अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पछिल्लो अपडेटः बाढी-पहिरोमा परी ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते

पछिल्लो अपडेटः बाढी-पहिरोमा परी ७७ जनाको मृत्यु, २६ बेपत्ता, २२ घाइते


काठमाडौं- विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

गृहमन्त्रालका अनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक-एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

उहाँका अनुसार बाढीरपहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु.दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु.तीन लाख दिइनेछ ।

आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु.१५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु.२० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।