अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभाको बैठक सभामुखले स्थगित नगर्ने, विश्वासको मत लिने समय भने धकेलिने

बागमती प्रदेशसभाको बैठक सभामुखले स्थगित नगर्ने, विश्वासको मत लिने समय भने धकेलिने


मकवानपुर – बागमती प्रदेशसभाको बैठक अहिले केहीबेरमा बस्ने तयारी भएको छ ।

सत्तारुढ एमालेले आजका लागि बोलाइएको बैठक सार्न सभामुखलाई आग्रह गरे पनि आजको बैठक सञ्चालन गरिने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

९ भदौमा मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि आह्वान गरिएको बैठकमा उहाँले विश्वासको मत लिने बताउनुभएको हो । तर सत्तारुढ दल एमालेले बैठक रोक्न माग गर्दै आएकाले आज शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रक्रिया अघि बढ्ला वा नबढ्ला भन्नेमा अन्योलता छ ।

२४ असोजमा आजका लागि बैठक आह्वान गरे पनि यो बीचमा सरकार जोगाउनका लागि शाक्यले आवश्यक समर्थन जुटाउन नसकेकाले एमालेले आजका लागि डाकिएको बैठक सार्न माग गरेको थियो । उहाँले आफ्नो पार्टीको वडा तथा पालिका अधिवेशन ६-९ असोजसम्म परेकाले समस्या हुने भन्दै आजका लागि बोलाइएको बैठक सारी आगामी ११ कात्तिकसम्म बोलाउन सभामुखलाई आग्रह गर्नुभएको थियो । एमालेले बैठक नै सार्न आग्रह गरे पनि सभामुखले बैठक सञ्चालन गर्ने अठोट लिनुभएका छन् ।

प्रदेशका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको एमाले विभाजन बनी बनेको एकीकृत समाजवादीमा लागेपछि मुख्यमन्त्री शाक्यलाई जम्मा ४३ जना सांसदकोमात्र समर्थन कायम रहेकाले अल्पमतमा परेका छन् । उहाँ एमालेको एकल बहुमत सांसदको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेको आग्रह बमोजिम सभामुखले बैठक नसारे पनि आजको बैठकमा एमाले सांसद अनुपस्थित हुने र अर्को मितिमा हुने बैठकमा मात्रै उपस्थित हुने चेतावनी एमालेले दिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आफूहरुको आग्रह विपरीत आह्वान गरिने आजको बैठकमा एमालेका सांसद उपस्थित हुन नसक्ने बताइसक्नु भएको छ । आजको बैठक सुरु गरेर औपचारिक मन्तव्य तथा सांसदको धारणा राखेर सभामुखले एमालेको माग बमोजिम स्थगित गर्ने सम्भावना रहेको बुझिएको छ ।

सरकार बनाउनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद रहेका छन् । प्रदेशसभामा विवेकशील साझाका २, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ जना सांसद रहेका छन् ।

नयाँ सरकारको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी गरिरहनुभएको छ । केन्द्रीय गठबन्धनको सहमतिका आधारमा बागमती प्रदेशमा सरकारको नेतृत्व नेकपा एसले पाउने बताइएको छ । यस्तै, कांग्रेसका इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्वको कुरा केन्द्रमा लिखित रुपमा सहमति भई नसकेकाले आफूहरुको दाबी रहेको बताउनुभयो । बानियाँको दाबीलाई गठबन्धनका नेताहले भने अनावश्यक बार्गेनिङ भनी टिप्पणी गरेका छन् ।