अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले नेपाललाई रेलमार्ग हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई रेलमार्ग हस्तान्तरण गर्‍यो


काठमाडौं -भारतले सीमापार जयनगर कुर्थाको विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो ।

नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री रेनुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गर्नुभएको छ ।
३४ किलोमिटरको जनकपुर(जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

कुर्था जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ । अहिले कुर्थादेखि बिजलपुरासम्म २०० करोड खर्चेर बाँकी खण्डको काम भारतले नै गर्दैछ ।

जयनगर(कुर्था रेलमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । रेल सञ्चालनमा लागि अहिले नेपालसँग कानुन नै छैन । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ मा हस्ताक्षर भइसकेको छ ।

सन् २०१४ देखि बन्द रहेको यो रेलमार्ग फेरि कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थासहित प्रोसिड्योरको मस्यौदा तयार भएको थियो । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका पूर्वाधारहरु आवश्यक पर्छ । तर, जनकपुर(जयनगर रेलमार्गमा यस्ता पूर्वाधारहरु तयार भएका छैनन् । प्रोसिड्योरमा क्रमैसँग यस्ता आवश्यक पूर्वाधार राख्दै रेल चलाउने व्यवस्था गरिएको छ । भन्सार पूर्वाधार नेपालको इनर्वा स्टेसनमा राख्ने सहमति भएको छ ।
करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल चलाउन तयारी भएपनि मिति तय भएको छैन । नेपाल रेल्वे कम्पनीले कम्पनीका लागि डेढ सयभन्दा बढी ज्यालादारी कर्मचारी भर्ना गरेपनि तिनलाई विदा गरिसकेको छ ।
सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।