तनहुँ- तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो । साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी बाटैमा चितुवाले झम्टिएर जंगलमा फ्याँक्दियो । चितुवाले आक्रमण गरेको स्थानबाट तीन सय मिटर पर जंगलमा बालिकाको शव गाउँलेले फेला पारे । उक्त दिन गाउँमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो । बाख्राको रगत पूरा पिउन नपाउदैँ लेखेटिएको झोकमा चितुवाले मासु लिएर आएकी बालिकालाई आक्रमण गरेको स्थानीय भीमबहादुर मगरले बताउनुभयो ।
मगरका अनुसार गएको सोमबार पनि गाउँबाट चितुवाले बाख्रा आक्रमण गरी जंगलतिर लगेको थियो । मान्छेलाई नै आक्रमण गर्ने पो हो कि भन्ने डरले बाख्रा खोज्न गाउँले जंगल पस्न सकेनन् । बारम्बार चितुवा गाउँ बस्न थालेपछि गाउँले त्रासमा रहेका उहाँले बताउनुभयो । लोहीआरे खेत्रके सामुदायिक वन गाउँसँगै जोडिएको छ । सामुदायिक वनका अध्यक्षसमेत रहेका मगरका अनुसार दिनादिनु वन घना हुँदै छ । वस्ती घट्दैछ । उहाँ भन्नुहुन्छ, ‘गाउँमा चितुवा बारम्बार आइरहन्छ । बाख्रालाई आक्रमण गरिरहन्छ । कहिलेकाहीँ मान्छेलाई पनि झम्टिन्थ्यो । २५ गते त मान्छे नै मार्यो ।’
चितुवाले मान्छेलाई आक्रमण गरेर मारेपछि गाउँलेले असुरक्षित महसुस गरेको उहाँले बताउनुभयो । ‘घाम अस्ताएपछि झ्यालढोका थुनेर घरभित्र बस्न थालेका छौँ । केटाकेटीलाई कसरी जोगाउने भन्ने चिन्ता छ । घाँसदाउरा काट्न जंगल जान पनि छोडियो’, भीमबहादुरले सुनाउनुभयो ।
चितुवा आक्रमणमा बालिकाको मृत्यु भएको यो घटना तनहुँमा पहिलो होइन । चितुवाको आक्रमणमा परी हालसम्म ११ जना बालबालिकाको मृत्यु भएको छ । १ फागुन २०७४ मा पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय बालक विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृखंलाबद्ध बालबालिकालाई आक्रमण गरिरहेको छ । झण्डै चार वर्षसम्म पनि चितुवाको आक्रमण रोकिएको छैन । ज्यान गुमाएका सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । यो अवधिमा १२ जना चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते एकाध मात्रै वयस्क हुन्, अधिकांश घाइते बालबालिका नै छन् ।
गएको ३० जेठमा व्यास नगरपालिका–१२ कमलवारीकी साढे २ वर्षीया अनुष्का परियारलाई चितुवाले घरमै आक्रमण गर्दा घाइते घाइते भएका थिए । २४ फागुन २०७७ मा बन्दीपुर गाउँपालिका–१ भुजेलगाउँका अक्कलबहादुर चेपाङलाई चितुवाले आक्रमण गर्दा घाइते भएका थिए । २१ भदौ २०७७ मा शुक्लागण्डकी नगरपालिका–२ मसारका १९ महिने नारायण रानालाई घरकै पिँढीबाट चितुवाले आक्रमण गरेर लगेको थियो
प्रतिक्रिया