अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन

पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमतको प्रदर्शन


जनकपुरधाम – पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ ।

बिहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाएकालाई बिनाशर्त रिहाइको माग गर्दै जनमतका कार्यकर्ताहरूले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

कार्यकर्ताहरूको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट सयौँ कार्यकर्ता जनकपुरमा उतारेर प्रदर्शन गरेको हो । प्रदर्शनमा धनुषा, महोत्तरी, सर्लाही, बारा, सिरहा र सप्तरीबाट कार्यकर्ताहरू सहभागी भएका जनमत पार्टीले बताएको छ ।

यसबीच, प्रहरीले जिल्लामा कुनै प्रकारको हिंसात्मक घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहनगरपालिकाको कार्यालय,  जिल्ला प्रहरी कार्यालय तथा जनकपुर बजारका सबै चोकहरूमा प्रहरीको संख्या थप गरिएको छ ।

प्रहरीले गस्ती टोली पनि बढाएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।