यहाँ उपस्थित सम्पूर्ण कमरेडहरु, यहाँ उपस्थित नभएर बाहिर रहनु भएका र प्रत्यक्ष प्रशारण हेरिरहनु भएकासमेत सम्पूर्ण कमरेडहरु !
मलाई खुशी लागेको छ । यति ठूलो संख्यामा कुनै महाधिवेशनको उद्घाटन सत्र मात्र होइन, बन्द सत्र नेपालकै इतिहासमा यो पहिलो रेकर्ड हो । यति ठूलो संख्यामा प्रतिनिधि सहभागि भएको बन्दसत्र कुनै पनि पार्टीले कहिल्यै गरेको छैन । अर्को विशेषताः यति ठूलो संख्यामा बन्दसत्र, तीनवटा ठूल्ठूला दस्तावेज माथिको छलफल, त्यसमथिको सुझाव, तिनको समीक्षा, तिनीमाथिको टिप्पणी आदि कुराहरु समेत सबै कुरालाई हामीले हाम्रो कार्यतालिका बमोजिम नै, समय सीमाभित्र व्यवस्थित ढंगले सम्पन्न गरिरहेका छौं । यो अर्को धेरै महत्वपूर्ण कुरा हो ।
वास्तवमा अन्तर्राष्ट्रिय सम्मेलनहरु यस्तैगरी सञ्चालन हुन्छन् । कहिलेकहिले यस्तै ठूला सम्मेलनहरु दुई वा तीन दिनभन्दा लामा हुँदैनन् । दुई दिनभित्र त्यस्ता ठूला सम्मेलनहरु भव्यताका साथ, सफलतापूर्वक सम्पन्न गरिन्छन् । हामीले त्यस्तै गरेका छौं । यसका लागि हाम्रा सम्पूर्ण नेता कमरेडहरु, प्रतिनिधि कमरेडहरु सबैको उन्नतस्तरको र गहिरो सम्झदारीप्रति म धन्यवाद भन्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु । यो हाम्रो पार्टीको, हाम्रो आन्दोलनको, हाम्रो पार्टी एकताको परिचायक हो ।
हामीले हाम्रो पार्टीले सुरु गरेको पहिलो विधान महाधिवेशन अत्यन्तै भव्यताका साथ यसरी आयोजना गरेका छौं र यसरी सफलतापूर्वक सञ्चालन गरिरहेका छौं ।
कमरेडहरुले यस महाधिवेशनमा हाम्रा पार्टीले विगतमा गरेका कामहरुको सन्दर्भमा, हाम्रो पार्टीको नेतृत्वले वा हाम्रो नेतृत्वमा विगतमा सरकारले गरेका कामहरुको सन्दर्भमा अथवा हाम्रा अगाडिका चुनौतीहरु, विभिन्न समयमा आएका अप्ठ्याराहरुको सामना गर्ने सन्दर्भमा र तिनको सामना गर्दै आन्दोलनलाई अझ उचाईमा लिएर जान प्राप्त गरेका सफलताहरुको सन्दर्भमा छलफल गर्नुभयो । त्यसैगरी आगामी दिनमा आजको यथार्थ स्थितिमा उभिएर, आजका चुनौती र आगामी दिनमा आउन सक्ने चुनौतीहरुको सन्दर्भमा छलफल गर्नुभयो । ती चुनौती विभिन्न रुपमा हुनसक्छन्, विभिन्न प्रकृतिका हुनसक्छन् । ती चुनौतीहरुको पहिचान गर्ने, तिनको सामना गर्ने र ती चुनौतीहरुलाई पराजित गर्ने सन्दर्भमा हाम्रा नीतिहरु, हाम्रा कार्यक्रमहरु, कार्ययोजनाहरु, त्यसका निम्ति नेतृत्व विज्ञानका कौशल, शक्ति विन्यासका तरिका, अन्तरविरोधहरुको समयानुकूल पहिचान र तिनको समाधान, यस्ता अनेक गहन विषयहरुमा यहाँ छलफल भयो । रणनीतिक प्रश्नहरु र कार्यनीतिक प्रश्नहरु, हाम्रो गन्तव्य, त्यो गन्तव्यमा पुग्ने बाटो, बाटोमा अपनाइने विभिन्न संघर्षका तरिकाहरु । यी सबै कुराहरुको सन्दर्भमा पनि हामीले छलफल गर्यौँ ।
पार्टी निर्माणको प्रश्न एकातिर, अर्कातिर राष्ट्र निर्माणको प्रश्न । कतिपय पार्टीहरुलाई राष्ट्र निर्माणको प्रश्न तात्कालिक प्रश्न बनेको हुँदैन । हाम्रो पार्टी देशको सबैभन्दा प्रमुख पार्टी, सबैभन्दा जिम्मेवार पार्टी, सबैभन्दा बढी जनताले आशा भरोसा गरेको पार्टी, विगतमा आफ्ना क्षमताहरुले जनविश्वास आर्जन गरेको पार्टी । यस्तो पार्टीले राज्य सञ्चालनका प्रश्नहरु, लोकतन्त्रका प्रश्नहरु, लोकतन्त्रलाई सुदृढ गर्ने प्रश्नहरु र लोकतन्त्रलाई सुदृढ गर्दै कसरी जनताका निम्ति लोकतन्त्र, जनताको लोकतन्त्र, जनताको जीवनमा परिवर्तन अनुभूत गराउने लोकतन्त्र, त्यसमा कसरी रुपान्तरण गर्ने ? सुशासनयुक्त देश, पछौटेपन नभएको देश, गरिबी नभएको देश, अशिक्षा, पछौटेपन नभएको देश, आधुनिक देश, समृद्ध देश, सुविधासम्पन्न देश र त्यो समृद्धि र त्यो सम्पन्ता, त्यो सुविधा केही मान्छेको भागमा मात्रै नपरोस् । आम जनताको भागमा परोस् । आम जनताको साझा राष्ट्रिय उपलब्धि बन्न सकोस् । त्यसका निम्ति सुशासन, विकास, आधुनिकता, सुविधायुक्त शासन, सुविधायुक्त समाज र समृद्धि । यी हाम्रा आजका तात्कालिक विषय बनेका छन् । अरु पार्टीसँगको हाम्रो यो भिन्नता पनि हो । हाम्रा निम्ति यो विषय तात्कालिक विषय बनेको छ । अब ‘हामी जित्ने छौं एकदिन’ भनेर सुदूर भविष्यको परिकल्पना मात्रै गरिरहेका छैनौं । हामी जित्दै छौं, जितेर आएका छौं । फेरि पनि हामी जित्छौं । भविष्यमा कुनै एकदिन जित्ने छौं होइन । अबका दिनहरुमा जित्दै जानेछौं । अब हामी जित्ने छौं । यो हाम्रो पार्टीको नीति हो । यो हाम्रो पार्टीको दृष्टिकोण हो । हाम्रो हैसियत यो हो र हाम्रो पार्टीको कर्तव्य पनि यही हो । हामीले जित्नु पर्छ ।
आज हामी यस गम्भीर, सक्रिय, सजग बहसमा सक्रियतापूर्वक किन लागिरहेका छौं भने यी अभिभाराहरु हामीले पूरा गर्नु पर्नेछ । हामी भोलि अरुको टाउकोमा अपजस हालेर उम्किन सक्दैनौं । किनभने देश बनाउने कर्तव्य हाम्रो हो । हामी अरुलाई अपजस लगाएर उम्किन सक्दैनौं । ती त हाम्रा चुनौतीहरु मात्रै हुन् । चुनौतीको सामना गर्नुपर्छ, अपजस बोकाउने होइन । देश अब बन्न सकेन भने त्यसको जिम्मा हामी अरुलाई बुझाउन सक्दैनौं, हामीले जिम्मा लिनुपर्छ । किनभने जनताको विश्वास हामीमाथि छ । भरोसा हामीमाथि छ । हामी सबैभन्दा ठूलो पार्टी हौं र सानातिना कुराहरुले, कुनै चुनौतीहरुले, आवधिक कुनै सानातिना धक्काहरुले, कुनै हावाका झोक्काहरुले हाम्रो विजय यात्रालाई दीर्घकालिक रुपमा र निर्णायक रुपमा प्रतिकूल असर पार्न सक्दैन र पार्न दिनु पनि हुँदैन । तदनुसार नै हाम्रा विभिन्न विषयका प्रतिवेदनहरु प्रस्तावहरु प्रस्तुत भएका छन् । म खुशी व्यक्त गर्न चाहन्छु, कमरेडहरुले प्रस्तावहरुलाई स्वागत गर्नुभएको छ । कमरेडहरुले तिनलाई समर्थन गर्नुभएको छ, त्यसमाथि भरोसा गर्नुभएको छ र प्रस्तावहरुले, प्रतिवेदनहरुले अगाडि सारेका विचारहरुबाट देशलाई अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ । त्यसका लागि म धन्यवाद भन्न चाहन्छु । सँगसँगै प्रतिवेदनहरुलाई अझ समृद्ध बनाउन, अझ आकर्षक र खँदिला बनाउन कमरेडहरुले महत्वपूर्ण सुझावहरु दिनुभएको छ । म ती सुझावहरुलाई स्वागत गर्न चाहन्छु र ती सुझावहरु पनि सामेल गरेर दस्तावेजहरुलाई प्रकाशित गरिने कुरा कमरेडहरुसमक्ष निवेदन गर्न चाहन्छु ।
यतिबेला हामीमाथि चौतर्फी हमला भइराखेको छ । हामीले यी विविध प्रकारका चौतर्फी हमलाहरुलाई परास्त गर्नु पर्ने छ । हामीमाथि वैचारिक हमला त्यतिकै भइराखेको छ । अरु प्रकारका हमलाहरु पनि भएका छन् । हाम्रो विचारमाथि हमला भएको छ, हाम्रो संगठनमाथि हमला भएको छ । नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए अरे ! झण्डा देखिए अरे ! अलिक तामझाम देखियो अरे । नेतृत्वका विरुद्ध होइन, समर्थनमा कार्यकर्ता बोलेको देखियो अरे ! यसो भनेर छाती पिट्छन् विरोधीहरु । हाम्रा विरुद्धको हमलाको विभिन्न रुप मध्ये एउटा यो हो । हामी व्यक्ति पूजक होइनौं, मूर्ति पूजक होइनौं, हामी धर्मान्धतामा विश्वास गर्दैनौं । सँगसँगै हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामुहिक नेतृत्वमा विश्वास गर्छाैं, छलफलबाट निष्कर्षहरु निकाल्ने कुरामा विश्वास गर्छौं । हामी अध्ययनका साथ छलफलमा जुट्छौं । हामीले प्राप्त गरेका अध्ययनहरुलाई फेरि व्यवहारमा लगेर व्यवहारको कसीमा त्यो सही छ कि गलत प्रयोग गर्छौं, परीक्षण गर्छौं । त्यसबाट आएका निष्कर्षहरुमाथि आधारित भएर नयाँ आवधिक र सकेसम्म निमूल निष्कर्षहरु निकाल्छौं । सामुहिक प्रयासका साथ त्यसरी हामी अगाडि बढ्छौं । बर्बरिकले महाभारतको युद्धमा ‘कृष्णको चक्र मात्रै चलेको देखेको थिएँ, अरु केही देखेको थिइनँ’ भनेजस्तै कसैले चक्र चलाएर नेपाल जितिने होइन । हामी सबैका साझा सक्रियता, साझा प्रयास, साझा अध्ययन, साझा आन्दोलनबाट हामी देशमा परिवर्तन ल्याउन सक्छौं । यो कुरा नेकपा एमालेले जति कमसेकम अरुले बुझेका छैनन् । नेकपा एमालेले अरुले भन्दा बढी बुझेको छ । यसको अर्थ आन्दोलनमा तल्ला कमिटी, माथिल्ला कमिटी हुँदैनन्, कमिटीमा नेतृत्व हुँदैन, लामो संघर्षबाट, अनुभवबाट खारिएर नेतृत्व निर्माण भएको हुँदैन, नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको हुँदैन भन्ने कुरा पनि साँचो होइन । नेतृत्वको वरिपरि आन्दोलन संगठित हुँदा अहिले व्यक्तिपूजा भनेर दुष्प्रचार भइरहेको छ ।
हाम्रा विरुद्ध विगतमा लामो समय तीब्र हमलाको सिलसिला चल्यो । जब पहिलोपल्ट मेरो नेतृत्वमा सरकार बन्यो, नाकाबन्दीको डटेर मुकाविला गरियो । उत्तरतर्फबाट पनि पारवहन र यातायातका सम्झौताहरु भए । त्यतिबेला नेतृत्वका विरुद्ध उधुम खोइरो खन्ने काम भयो । खुइल्याउने कोसिसहरु भए । यति निकम्मा सरकार हुँदैन भन्ने हल्ला चलाइए । यस पटक संविधान जारी भएपछि भएको निर्वाचनबाट बनेको पहिलो सरकार हामीले बनाएको हो । हामी हाम्रो मेहनतले, हाम्रो परिश्रमले, हाम्रा सही नीतिहरुले जनतामा जान सक्यौं । जनताले हामीलाई विश्वास गर्नुभयो र अरुभन्दा बढी भोट, मत, बढी सिट दिएर अनुकूलता प्रदान गर्नुभयो । त्यो अनुकूलता विभिन्न ढंगले मिलाएर, चुुनावी तालमेल गरेर, एकता गरेर सुदृढ स्थिति बनायौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा, आन्तरिक रुपमा र बाह्य रुपमा, सामाजिक विकासको सन्दर्भमा अथवा भौतिक विकासको सन्दर्भमा, पूर्वाधार विकासको सन्दर्भमा अथवा मानवीय संशाधनको विकासको सन्दर्भमा हामीले असाधारण उन्नतिहरु गर्यौं । हामीले मानवअधिकारका ठूला कुरा मात्रै गरेनौं । मानवअधिकारको सन्दर्भमा हामीले सडकमा टुहुरा टुहुरी बालबालिका रहन नपरोस्, अभिभावकविहीन भएर हाम्रा छोराछोरीले खाते भनिएर बस्न नपरोस् भनेर तिनको उद्दार गर्ने बाटो समात्यौं । हामीले ज्येष्ठ नागरिकहरु अलपत्र, परित्यक्त वा बेसहारा भएर सडकमा लम्पसार पर्न नपरोस् भनेर तिनको व्यवस्थाको प्रबन्ध गर्यौं । सडक मानव भएर, सहयोगापेक्षी भएर, भिखमंगा भएर हिँड्न नपरोस् भन्ने कुरासम्मको व्यवस्था हामीले गर्यौं । अपांगता भएका व्यक्तिहरु, अशक्त भएका व्यक्तिहरु जो शारीरिक रुपले केही गर्न सक्दैनन्, उनीहरुलाई सम्मानपूर्वक जिउन पाउने अवस्थाको प्रत्याभूति गर्नेतर्फ हामी लाग्यौं । प्रतिक्रियावादी छक्क परे । सडक बालबालिका पनि हटाइँदैछ, भिखमंगा पनि हटाइँदैछ, ज्येष्ठ नागरिकहरुको प्रबन्ध पनि हुँदैछ, बालबालिकाले अभिभावक पनि पाएका छन्, ज्येष्ठ नागरिकहरुले साहारा पनि पाएका छन्, बाटा पनि बनेका छन्, पुल पनि बनेका छन्, मेलम्चीको पानी काठमाडौं पनि झरेको छ, थुप्रै ठाउँमा खानेपानीका आयोजना पुगेका छन्, विद्युत पुगेको छ, टेलिफोन विस्तार भएको छ, फोरजी पुगेको छ, काठमाडौं जस्ता शहरका अत्यन्तै अशोभनीय देखिएका टेलिफोनका तारका गुजुल्टाहरु भुइँमुनि पाइप ओछ्याउने कामहरु भइरहेको छ । अचम्म परे मान्छे । रानीपोखरी पनि बन्दै छ, धरहरा पनि बन्दैछ, बाटो पनि बन्दैछ, घरहरु पनि बन्दैछन्, भूकम्पबाट भत्किएका पुनःनिर्माण पनि हुँदैछ, अरु नयाँ निर्माण पनि हुँदैछ । कसरी बन्छ ? नेकपा एमाले सरकारमा आएपछि यो सबै एकैचोटी हुन्छ कसरी ? छक्क परे मान्छेहरु । अनि आत्तिए । मन बुझाउने कुनै ठाउँ रहेन उनीहरुको । उनीहरु हामीजस्तो यो गर्छौं भन्न सक्दैनन् । हामी यो गर्छौं भन्छौँ । यो हाम्रो दिशा हो, यो लक्ष्य हो, यो हाम्रो गन्तव्य हो, हामी यो बाटोबाट जान्छौं भनेर भन्छौं । अरु शक्तिहरुले त्यो भन्न सक्दैनन् ।
अरु शक्तिहरु त हाम्रो विरोध गरेर समय विताउँछन् । विरोध पनि कुनै आधारयुक्त विरोध होइन । अरुका समयमा वाइडबडी जेट विमान ल्याइन्छन् । अनि उनीहरु नै खोई वाइडबडीको हिसाब भन्छन् ? उनीहरु आफैंले खरिद गरेको वाइडबडीको हिसाव हामीसँग माग्छन् । अरुले गरेका कामहरुको हामीलाई जिम्मा लगाइन्छ । अनि एउटा डिजी(महानिर्देशक)ले गर्ने कामको जिम्मा हाम्रो टाउकोमा थोपर्न खोजिन्छ । यस्तो महामारीको बेला छ, औषधि जसरी पनि ल्याउनु पर्नेछ । जसरी पनि सामग्री ल्याउनु पर्नेछ । त्यस्तो बेला अनि ओम्नी, ओम्नी, ओम्नी भनेर एउटा हल्ला चलाइन्छ । मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भनेँ, ‘ओम्नीको छानबिन गर्नुस्’ । अरु निकायहरुलाई भनेँ, ओम्नीको छानबिन गर्नुस् । संसदीय समितिलाई भनेँ, ओम्नीको छानबिन गर्नुस् । यी सबै कुरा के हुन् भने हाम्रा राम्रा कामहरुले गर्दा जनताको नजरमा हामी जसरी स्थापित हुँदै गयौं, जनताको नजरबाट हामीलाई गिराउने, बदनाम गर्ने खराब मनसाय र गलत नियतकासाथ यी दुष्प्रचारहरु भए । कमरेडहरुलाई थाहा छ, हामी यी सबै कुराहरुलाई चिरेर आएका छौं । अघिल्लोपल्ट प्रतिनिधिसभामा राजीनामा दिँदै गर्दा मैले भनेको थिएँ– ‘कहिले कहिले देशको आवश्यकता र संसदको अंकगणितमा मेल खाँदैन, फरक पर्छ ।’ यस पटक पनि त्यही भएको हो । सजिलैसँग देशको आवश्यकता र संसदीय अंक गणितमा मेल नखाने स्थिति बनाउन सकिँदैनथ्यो । त्यसकारण पहिलो त हाम्रै पार्टीभित्र समस्या खडा गर्नु पर्दथ्यो । समस्या खडा गरियो । प्रतिवेदनले स्पस्ट रुपमा भनेको छ, केही स्वार्थी, केही महत्वकांक्षी, केही ईष्र्यालु, केही डाही र कुण्ठाग्रस्त मान्छेका विकृत मनोदशाले गर्दा हामीले एउटा उचाईमा पुर्याइसकेको पार्टी, आन्दोलन र उपलब्धिमाथि बन्चरो प्रहार गर्ने काम भयो ।
के बिग्रिएको थियो र तमासा गर्नु परेको थियो ? अहिले मात्रै होइन, अगाडिदेखि– कहिले प्रधानमन्त्रीले राजीनामा गर भनेको छ । कहिले अध्यक्षले राजीनामा गर भनेको छ । किन राजीनामा गर्ने थाहा छैन । यस्ता सिलसिला पार गर्दै हामी आयौं । १९ पृष्ठ लामो नक्कली, झुठा आरोपहरुको एउटा पुलिन्दा पेश गरेर बदनाम गर्ने काम भयो । एकीकरण गर्न हिँडेका हामी–तीन महिनाभित्र एकीकरण टुङ्ग्याउने भनिएको थियो । तीन महिनाभित्र एकीकरण टुङ्ग्याउने कुरा त छोड्दिउँ । तीन महिनाभित्र एकीकरण टुङ्ग्याउने होइन, तीन वर्षमा पनि एकीकरण टुङ्गिएन । गएको चैत २५–३० गतेसम्म दशौं महाधिवेशन गर्ने भनेका थियौं । एकताको महाधिवेशन, एकताबद्ध ढंगले जाने भनिएको थियो । कात्तिकको अन्तिममा गएर अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउनका निम्ति एकीकरणको बाटो छोडेर सत्ता गुटबन्दीको बाटोबाट पार्टीलाई ध्वस्त पार्ने प्रयास भयो । त्यसलाई पनि हामीले जोगाएर ल्यायौं । नेकपा एमालेका देश भरिका, विदेशमा समेत रहेका तमाम कार्यकर्ता र नेता कमरेडहरुलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु–जसले अत्यन्तै विकट स्थितिमा पार्टीलाई जोगाएर ल्याउनु भयो, बचाएर ल्याउनु भयो र जस्ताको तस्तै ठाउँमा पार्टीलाई उभ्याउनु भयो । तपाईंहरु ती प्रतिनिधि कार्यकर्ता, प्रतिनिधि नेता, प्रतिनिधिपात्रका रुपमा यहाँ हुनुहुन्छ, म तपाईंहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । जसले पार्टी बचाएर ल्याउन ठूलो योगदान गर्नुभयो । यो सचेतनता ज्यादै महत्वपूर्ण कुरा हो ।
हामी धेरै अल्मलिनु हुँदैन । कहिले कहिले सिद्धान्त र व्यवहारमा हामी अल्मलिन्छांै । विरोधीले गालामा थप्पड हानिसक्छ । अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ, यो गालामा हान्ने विरोधी हो कि होइन ? गालामा हान्नेलाई शास्त्रले विरोधी मान्छ कि मान्दैन ? शास्त्र पल्टाउन थाल्छौं । यतिसाह्रो शास्त्रवादी हुनु जरुरी छैन । जो तपाईंसँग लडिराखेको छ, त्यो विरोधी हो । जो तपाईंसँग लडेको छैन, सँगै काम गरिराखेको छ, त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रिएका मान्छे को हुन् ? जो छोडेर गए, उनीहरु हुन् । जो यहाँ छन्, सप्रिएका हुन् भन्ने प्रमाण यहाभन्दा बढी केही चाहिन्छ ? छर्लङ्गै छ नि । हाम्रा विरोधी को हुन् ? जो हामीसँग लडिरहेका छन्, हाम्रो सरकार ढाल्न जजसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्याए, कम्युनिष्ट सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए, नेकपा एमालेको सरकार ढालेर क्रान्ति गर्यौं भने । उनीहरु हाम्रा विरोधी हुन् ।
यो पार्टी काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा गएर एउटा नयाँ पार्टी दर्ता गरी खेले । यसलाई दर्ता होइन, दर्ता गरी खेलेको भन्नु पर्छ । पहिले यस्ता एक सयभन्दा बढी पार्टी बनेका थिए । एक सयबाट ३३ वटा पार्टी आएका थिए । ३३ वटाबाट अहिले संसदमा ४÷५ वटा कति पार्टी छन् । अहिले अरु फेरि दर्ता गर्ने सिलसिला चलेको छ । यो पार्टीले देशलाई कहाँबाट कहाँ पुर्यायो भन्ने कुरा देख्दादेख्दै, यसलाई सिध्याउनु पर्छ र अर्को पार्टी खोलेर त्यसबाट बनाउँछु भनेर बैतरणी तर्ने प्रयास गरेका छन् । मैले सुनेको थिएँ– मर्ने बेलामा गाईको पुच्छर समातेर वैतरणी तर्न खोज्छन् अरे । तर, अर्को केको पुच्छर समातेर वैतरणी तर्न खोज्यो कसैले भनेको सुनेको थिइनँ । अहिले अर्कै कसैको पुच्छर समातेर वैतरणी तर्ने खेल तपाईं हामीले देखेका छौं । हामी कुनै अल्मलमा, अन्योलमा पर्नु पर्दैन । हाम्रै पार्टीका कतिपय साथीहरु सम्पर्क, सम्बन्धले गर्दा, भ्रमले गर्दा, स्थानीय अन्तरविरोधले गर्दा कतिपय कुराले पार्टीबाट अलग भएका, अलमल परेका, भ्रममा परेकालाई तानेर लगेका हुन सक्छन् । त्यस्ता साथीहरुलाई फर्काउनु पर्छ । माथिबाट पनि हामी प्रयास गर्छौं । अल्मलिएर गएका साथीहरुलाई, भ्रममा परेका साथीहरुलाई फर्काउन तल सबैतिरबाट प्रयास गर्नका लागि म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।
उनीहरु जनतालाई अल्मल्याउन खोज्छन् । भ्रममा पार्न खोज्छन् । आज भर्खर यस महाधिवेशनको क्रममा मात्रै सयौं पुराना स्थापित विभिन्न पार्टीका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उनीहरु हाम्रा विरुद्ध जनतालाई जति भ्रममा पार्छन्, जनता झन् स्पस्ट हुँदै जान्छन् । एमालेलाई जति कमजोर पार्न खोज्छन्, झन् एमालेमा मान्छेहरुको ओइरो लाग्छ । अहिले हामीलाई कम्तिमा ५१ प्रतिशत नेपाली नेकपा एमालेको पक्षमा छ भन्ने कुरा चाहिएको छ । कम्तिमा ५१ प्रतिशत नेपाली नेकपा एमालेको पक्षमा छ र यो सम्भव छ । तपाईं हामी हाम्रा महान विचारहरु, महान उद्देश्यहरु, देशभक्तिपूर्ण सोचहरु, लोकतान्त्रिक सोचहरु, परिवर्तनकारी सोचहरु, विकासमुखी सोचहरु र समृद्ध नेपाल सुखी नेपालीको सर्वोपरी राष्ट्रिय आकांक्षा लिएर जनताबीच जान्छौँ, जो हाम्रा ऋषिमुनिहरुले भनेका थिए– सर्वे भवन्तु सुखिनः । मान्छे के चाहन्छ भन्दा सुख चाहन्छ । हाम्रा ऋषिमुनिहरुले हजारौ वर्ष पहिले त्यो पत्ता लगाएका थिए । हो त्यही–सर्वे भवन्तु सुखिन हामीले चाहेका हौँ । हामीले नेपाललाई त्यस ठाउँमा पुर्याउन खोजेका हौँ– सबै सुखी होउन् । त्यसका लागि समृद्धि चाहिन्छ, जनता अधिकार सम्पन्न हुनुपर्छ । अधिकार सम्पन्न जनता, अधिकार सैद्धान्तिक रुपमा मात्रै होइन । अधिकारसम्म पुग्ने अवसर सबैले प्राप्त गर्नुपर्छ । अवसर प्राप्त भएको जनता हुनुपर्दछ । त्यसै गरेर अधिकार र अवसरमा, उपलब्धिहरुमा सबैको समान हिस्सेदारी चाहिन्छ । सबैको सहभागिता चाहिन्छ, साझेदारी चाहिन्छ । उपलब्धिहरुको हकदार सबै हुनु पर्दछ । अर्थात् सामाजिक न्याय र समानता हुनु पर्दछ । समानतासहितको समृद्धि, हामीले खोजेको कुरा हो । हामी जनवाद भन्न सक्छौं, समाजवाद भन्न सक्छौं, समाजवादउन्मुख भन्न सक्छौं, उन्नतस्तरको, प्रारम्भिकस्तरको समाजवाद भन्न सक्छौं । उन्नतस्तरको समाजवाद, तल्लोस्तरको समाजवादउन्मुख, समाजवाद, जनवाद भनेको सबै केके हो ? कस्तो कस्तो हुन्छ ? कति लामा सिङ्ग, कति लामा कान ? गाउँघरका आम दाजुभाइ दिदीबहिनीहरुले थाहा पाउँदैनन् । जनताले थाहा पाउनेगरी हामीले भन्ने कुरा के हो भने, हाम्रो देश विकास हुनुपर्छ । यहाँ सुशासन हुनुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ र समृद्ध देश हुनुपर्छ । हरेक नेपालीले रोजगारी पाउने, हरेक नेपालीले खानबस्न पाउने हुनुपर्छ । हरेक नेपालीले खान पाउनु पर्यो, लगाउन पाउनु पर्यो, बस्ने आवास पाउनु पर्यो, छोराछोरी पढाउन सक्ने अवस्था हुनुपर्यो, बिरामी हुँदाँ औषधि उपचार पाउनु पर्यो, अकालमा मृत्यु हुनुभएन र सुविधासम्पन्न जीनव बाँच्न पाउनु पर्यो । समान अधिकार सहितको शान्तिपूर्ण समाज हुनुपर्यो । सबैले विकासको अवसर पाउनु पर्यो । कहीँ असुरक्षा, अशान्ति हुनुभएन । भय नभएको, भयमुक्त भएको, भयरहीत वातावरण हुनुपर्यो, जहाँ मान्छे ढुक्कले बाँच्न सकोस् । कसैबाट मेरो अधिकार खोसिन्छ कि, मेरो सम्पत्ति खोसिन्छ कि, ममाथि हमला हुन्छ कि, मेरो ज्यान मारिन्छ कि अथवा ममाथि कुनै खतरा हुन्छ कि भन्ने कुनै प्रकारको त्रास नहुने खालको वातावरण बनाउनु पर्यो । हामीले अहिले समाजवादउन्मुख भनेको त्यही हो । सम्मानजनक जीवन जिउन पाउनु पर्यो, हामीले बनाउन खोजेको त्यो हो । त्यही कुराचाहिँ जनताले बुभ्mछ ।
लोकतन्त्र खाली राजनीतिक मात्रै होइन, राजनीतिक अधिकारको मात्रै कुरा होइन । यो आर्थिक अधिकारसँग मात्रै सम्बन्धित होइन, जीवनसँग सम्बन्धित, जनताको आवश्यकतासँग सम्बन्धित, जैविक र मानवीय आवश्यकताहरुको यथोचित परिपूर्ति हुने कुरासँग सम्बन्धित हुनु पर्यो । जनताले त्यो कुरा बुझ्छ । हामीले समाजवाद बुझाउँदा, पूर्ण लोकतन्त्र भनेर बुझाउँदा एकपक्षीय लोकतन्त्र मात्रै होइन, राजनीतिक अधिकारको मात्रै होइन । समग्र सामाजिक क्षेत्र र मानव जीवनलाई समेट्ने सम्पूर्ण कुरा– वातावरणदेखि लिएर अरु अनेक पक्षसम्मलाई समेटेको लोकतन्त्र, हामीले भनेको लोकतन्त्र यो हो । हामी यसरी समृद्धितर्फ अगाडि जान्छौं । यी कुरा हामीले भन्न खोजेका हौं । यसलाई धेरै जटिल बनाउनु आवश्यक छैन ।
हामीले छलफल गर्दा केही सैद्धान्तिक, केही वैचारिक, केही परम्परागत शब्दावलीको प्रयोग गर्न सक्छौं । तर, जनताका बीचमा जाँदा त्यो भनेको के हो भनेर मूर्त चित्र कोर्नु पर्दछ । के हो समाजवादउन्मुख भनेको ? बाटो बनाउँदै छौँ, समाजवाद उन्मुख भन्छौं । हो, बाटो बनाउनु पनि समाजवाद उन्मुख हो । पुल बनाउनु पनि समाजवाद उन्मुख हो । खानेपानी गाउँगाउँमा पुर्याउनु समाजवाद उन्मुख हो । स्कूल राम्रा बनाउनु, आजको जीवन उपयोगी प्राविधिक शिक्षासहितको बेरोजगार हुने शिक्षा होइन, रोजगारी दिने शिक्षा हो । त्यो समाजवाद उन्मुख हो । कृषिको आधुनिकीकरण हो समाजवादउन्मुख भनेको । कृषिको बजारीकरण हो । व्यवसायीकरण हो, मेसिनीकरण हो, कृषि आधारित उद्योगहरु स्थापना गर्दै जाने र त्यहाँबाट ठूलो मात्रामा उद्योगहरु अगाडि बढाउने कुरा समाजवाद उन्मुख हो । समाजवाद उन्मुख भनेको सामाजिक जागरणको, आधुनिक चेतको, वैज्ञानिक चेतको अभियान सञ्चालन गर्नु हो । बोक्सी लाग्छ भनेर, मेरा त घरमा बिरामी छन्, बोक्सी लाग्छन् भनेर अन्धविश्वासमा हिँड्नु होइन । अन्धविश्वासका विरुद्ध जागरण अभियान हो समाजवाद उन्मुख भनेको । पछौटेपनका विरुद्ध जागरण अभियान, पछौटे प्रविधिका विरुद्ध आधुनिक प्रविधि, पुराना कुराहरु मात्रै प्रयोग गर्ने परम्पराका नाममा होइन । आधुनिक प्रविधि, विज्ञानको प्रयोग गर्दै जाने, यो हो समाजवाद उन्मुख भनेको । हामीले डिजिटल नेपाल भन्यौं, विभिन्न काम गर्यौं, किन ? किनभने यी कुराहरुले हामीलाई समाजवादतिर अगाडि लिएर जान्छ । समाजवादतिर लैजानका निम्ति हामीले हाम्रो पर्यटन क्षेत्रलाई विकास गर्नुपर्दछ । पर्यटनको विकासको बाटोबाट हामीले हरेक क्षेत्र, हरेक ठाउँबाट समाजवाद उन्मुख काम गर्न सक्छौं, समाजवादतर्फ लाने काम गर्न सक्छौं । त्यो कुरा हामीले जनतालाई बुझाउनु पर्छ ।
अवश्य नै आज राष्ट्रिय पूँजीको विकास गर्नु पर्छ । बाह्य दलाल पूँजी, जो उत्पादनमूलक हुँदैन । रोजगारी दिए पनि अत्यन्तै सानो रोजगारी देला । तर, रोजगारीमूलक हुँदैन । रोजगारी सिर्जना गर्ने खालको हुँदैन । उत्पादनमूलक हुँदैन र कमिशनमा बढ्ता जोड दिन्छ । कमिशन एजेन्टको रुपमा काम गर्छ । कानून छल्छ, कालोधनको रुपमा काम गर्छ । त्यसले कर्मचारीतन्त्र, राजनीति वा राजनीतिक तहहरुलाई प्रयोग गर्छ, दुरुपयोग गर्छ । त्यसको आडमा आफ्नो अनुचित धन्दा चलाउँछ । अनुचित मुनाफाखोर, कालोधन्दा चलाउँछ । त्यसलाई हामी एजेण्ट वा कमिशनखोरी र कालोधनको रुपमा बुझ्छौं । त्यस्तो धन समाज विकासका निम्ति, समाजका उत्पादक शक्तिहरुको विकास र उत्थानका लागि तिनीहरुले उत्पादक शक्तिहरुलाई सक्षम÷सबल बनाउन, तिनीहरुलाई आत्मनिर्भर बनाउन मद्दत गर्दैन । त्यसले असमानताको खाडल बनाउँछ । प्रतिव्यक्ति आय, जीडीपी हेर्यो भने देश धनी भयो भन्ने देखिन्छ । किनभने, केही मान्छेहरुका हातमा खरवौं रकम थुप्रिन्छ र बाँकी गरिब हुन्छ । त्यसले देशको नक्कली तथ्याङ्क, नक्कली चित्र खडा गर्छ । देश गरिब हुन्छ तर त्यसले चित्र चाहिँ धनीको खडा गर्छ । किनभने केही मान्छेहरु यति धनी हुन्छन् कि तिनीहरुसँग दामासाही बाँड्दा हामीसँग हुँदै नभएको सम्पत्ति पनि हामीसँग छ कि जस्तो देखाउँछ । त्यो नक्कली र कृत्रिम कुरा हो । कृत्रिम अर्थतन्त्र, कृत्रिम सम्पन्ता समाजवादी हुँदैन । त्यो विल्कूल पूँजीवादी, व्यक्तिवादी पूँजीवादी हुन्छ । तसर्थ हामी राष्ट्रिय पूँजीको विकास, जन पूँजीको विकास, आमजनताको जीवनस्तर माथि उठाउने सामाजिक विकासमा विश्वास गछौं, त्यसका लागि लाग्छौं । सिंगो सामाजिक जीवन माथि उठाउने समाजवादी तरिका हो । यसैकारण हामीले नारा दियौं, ‘नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ अहिलेसम्म पूँजीवादी देशले आफ्ना देशमा त्यस्तो नारा दिन सकेको छैन । जो हाम्रो सरकारले दियो– ‘नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ सबैभन्दा ठूलो मानवअधिकारको प्रत्याभूति त्यो हो । सबैभन्दा ठूलो समाजवाद उन्मुख, सबैभन्दा ठूलो मानवतातर्फको प्रस्थानविन्दु यहाँनिर हो । त्यसकारण हामीले समाजवाद उन्मुख काम गरेका छौं, गर्दै जानेछौं । हाम्रो यस प्रकारको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, नीति कार्यक्रम र तदनुसारका योजना र पक्षहरुमा तत्सम्बन्धी लक्ष्यहरुमा मैले विश्वास लिएको छु ,कमरेडहरु, अवश्य नै स्पस्ट हुनुहुन्छ । हामी सबै यसमा स्पस्ट हुन जरुरी छ ।
हामीलाई विश्वव्यापी रुपमा सन् १९९० को दशकतिर संकट आइपरेको थियो । अथवा २०४८ सालतिर । वि.सं. २०४७÷०४८ साल विश्व राजनीतिमा यस्तो समय थियो, जतिबेला प्रगतिवादी आन्दोलन, समाजवादी आन्दोलन, सोभियत संघको विघटन र पूर्वी युरोपको एकढंगको विखण्डन÷विलयन के भनूँ ! त्यही भइरहेको थियो । त्यसबाट बहुतै ठूलो गम्भीर धक्का लागेको थियो र प्रतिकूल स्थिति बनेको थियो । त्यस स्थितिमा धेरै मान्छेले, हाम्रै देशका पनि धेरैले कम्युनिष्ट आन्दोलनको झण्डा फ्याँके । माक्र्सवादी दर्शन भन्न हिम्मत गरेनन् । माक्र्सवादी दर्शनको खोइरो खन्न थाले । केहीले झण्डा फ्याँके, ध्येय फ्याँके, उद्देश्य फ्याँके, गन्तव्य फ्याँके, समाजवाद फ्याँके र पूँजीवादको भजन गाउन थाले । केही अडिए तर ढंग पुर्याएनन् र सफल हुन सकेनन् । सफलतातिर जान सकेनन् । हाम्रो पार्टीले जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवाद अगाडि सार्यो, जो माक्र्सवादको अत्यन्तै सिर्जनात्मक प्रयोग थियो । राजनीतिमा, समाजशास्त्रमा र अर्थतन्त्रमा माक्र्सवादी दर्शनको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवादले गर्यो । नेपालको तत्कालीन र विश्व राजनीतिक स्थितिमा अत्यन्तै प्रभावकारी ढंगले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको व्यवहारमा सजिव प्रयोग गर्यो । आजको माक्र्सवाद–लेनिनवाद भनेको के हो ? अघि मैले भनेको झैँ ः माक्र्सवादी दर्शन, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, माक्र्सवादी समाजशास्त्रलाई तत्कालीन विश्व व्यवस्था र नेपालको अवस्थामा कसरी प्रयोग गर्ने ? कसरी सिर्जनात्मक ढंगले प्रयोग गर्ने ? ‘जनताको बहुदलीय जनवाद’को रुपमा त्यसको एउटा नयाँ सोच, नयाँ चिन्तन, नयाँ बाटो नेकपा एमालेले दियो । यो कुनै लहडवाजी होइन । यो यसो कुनामा बसेर एउटा कुनै नयाँ चिज दिनु पर्यो, देशलाई केही नयाँ चिज दिउँ न त भनेर विचार गरेर, घोत्लिएर, यसो कोर्दै गएर फुत्त निस्किएको चिज होइन । वर्ग संघर्षको इतिहासको एउटा लामो समय पछिको साह्रै कठीन र पेचिलो मोडमा जनताको बहुदलीय जनवाद त्यही वर्गा संघर्षको मैदानबाट निस्कियो । जसले त्यस अवस्थामा पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई कसरी सही ढंगले जीवित राख्न सकिन्छ, अगाडि बढाउन सकिन्छ, सुदृढ बनाउन सकिन्छ र विजयी बनाउन सकिन्छ भन्ने कुराको तय गर्यो र तदनुसार शंखघोष पनि गर्यो । जनताको बहुदलीय जनवादको महत्व यस कुरामा छ ।
आज कहीँकहीँ अलिअलि कताकता अलमल पर्न खोजेको देखिन्छ– यो कार्यक्रम हो कि, सिद्धान्त हो कि ? कार्यक्रम हो भने सिद्धान्त होइन, सिद्धान्त हो भने कार्यक्रम होइन भन्नेजस्तो । यो कार्यक्रम पनि हुन सक्छ, सिद्धान्त पनि हुनसक्छ । सिद्धान्त पनि हो, कार्यक्रम पनि हो । यसभित्र दर्शनका पक्षहरु पनि छन् । पाइला सार्नु र हिँड्नु उही कुरा हो । पाइला सार्दै गएर हामी हिँड्दै जान्छौं, हिँड्दै गर्दा यात्रा हुन्छ । कार्यक्रम यस्तै हो, हाम्रा दैन्दिन गतिविधि, आवधिक गतिविधि र एउटा खास निश्चित गन्तव्यसम्मको गतिविधिलाई हामी कार्यक्रम भन्छौं । त्यो निश्चित अवधिसम्मको गतिविधि हो । यस्ता कार्यक्रम, यस्ता नीति, गतिविधिहरुको श्रृंखलामा जब त्यसले सहिपना स्थापित गर्दछ, अनि त्यसलाई सिद्धान्त भन्छौं । जनताको बहुदलीय जनवादको कार्यक्रम कार्यान्वयनको सन्दर्भमा, त्यतिबेला सैद्धान्तिक पक्ष त्यहाँ नभएका होइनन् । पाँचौ महाधिवेशनमा जननेता मदन भण्डारीले कार्यक्रम प्रस्तुत गरिरहँदा त्यहाँ सैद्धान्तिक पक्ष नभएका होइनन् । तर हामीले त्यहाँ कार्यक्रमको रुपमा त्यसलाई प्रस्तुत गर्यौं । त्यसले विरोधीहरुका हामीमाथिका सम्पूर्ण हमलाहरुलाई निस्तेज गरिदियो । हामीमाथिका आरोपहरुलाई निष्प्रभाही बनाइदियो । हामीमाथिका हमलाहरु निस्तेज भए । महाभारतको, रामायणको युद्धको टेलिसिरियल हामीले हेर्यौँ भने, यताबाट द्रोणले वाण हान्छ, उताबाट अर्जुनले वाण हान्दा वाणहरु बीचमा काटिन्छन् । त्यस्तै हामीमाथि हानेका वाणहरु हामीले त्यसैगरी आकासमै काटिदियौंँ । हामीमाथि चलाइएका क्षेप्यास्त्रहरु निस्तेज पारिदियौँ । अहिले भर्खर हामीले प्यालेस्टाइन र इजरायलको द्वन्द्वमा हेर्यौं, एउटाले रकेट छोड्छ, अर्काले ड्रोन छोडेर त्यसलाई काटिदिन्छ र ती सबै क्षेप्यात्रहरु निष्प्रभाही हुन्छन् । हामीमाथि अनेक क्षेप्यात्रहरु प्रहार भए, तर हामीले ड्रोन छोडेर क्षेप्यात्रहरुलाई काट्दै गयौं । उताका वाणलाई हाम्रा वाणले काट्ने, क्षेप्यात्रलाई ड्रोनले काट्ने स्टार वारजस्तै भयो । सैद्धान्तिक वार, वैचारिक वार, राजनैतिक वार । त्यो वार अहिलेसम्म के स्पस्ट छैन र ? माक्र्सवाद अब हिजोको विषय भयो भनेर दुनियाँबाट कम्युनिष्ट सिद्धान्त सिद्धियो, माक्र्सवाद सिद्धियो, सबै सिद्धियो भनेर अनेक प्रकारका कुराहरु आए । कसैले इतिहासको अन्त्य भने, कसैले सिद्धान्तको अन्त्य भने, कसैले समाजवादको अन्त्य भने, कसैले अनेक कुराहरु भने । त्यस्तो बेलामा आज नेकपा एमालेलाई सरकारबाट ढाल्न दुनियाँ लाग्नु पर्यो । एकपटक सरकारबाट ढाल्नका लागि दुनियाँ लाग्नु पर्यो । यो एउटा अनुभव हो । कुस्ती खेल्दा लडाइँमा खलिफालाई अलिकति थप्पड लागेन भने, बक्सिङ खेल्दा विपक्षीको अकिलति मुक्का लागेन भने उसले सतर्कता पनि अपनाउँदैन र राम्रो तयारी पनि गर्दैन, साबधानी पनि हुँदैन र प्रत्याक्रमण कसरी गर्ने भन्ने कुराको पनि हेक्का राख्दैन । हामीलाई अहिले यो मौका मिलेको छ । उपयुक्त ढंगले तयारी गर्ने र नयाँ उचाईको सफलताका लागि अगाडि बढ्ने मौका हामीले प्राप्त गरेका छौं । तसर्थ हामीले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा पाँचौँ महाधिवेशनबाट, सिद्धान्तको रुपमा छैटौंबाट, हाम्रा कामहरुलाई मार्गदर्शन गर्ने सिद्धान्तका रुपमा पारित गरेर अगाडि सारेका छौँ । हाम्रा कामहरुलाई जनताको बहुदलीय जनवादले– खाली यो कार्यान्वयन गरिने कार्यक्रमको रुपमा मात्रै होइन, हाम्रा कामहरुलाई मार्गदर्शन गर्ने सिद्धान्तका रुपमा पनि यो रहेको छ । आज हाम्रा कामहरुलाई १९ औं शताब्दीको, त्यतिबेला प्रतिपादित माक्र्सवादले मात्रै होइन वा २०औं शताब्दीको सुरुवाततिर उभारमा आएको लेनिनवादले मात्रै होइन–यद्यपि ती विचार, सिद्धान्त र दर्शनहरु कालजयी छन् । तर पनि आजको समयमा हामीलाई जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेको छ । हाम्रो समाजकोे विश्लेषण, आजको दुनियाँको विश्लेषण, हाम्रा विरोधीहरुलाई चिन्ने कुरा हामी टाढैबाट जनताको बहुदलीय जनवादको दूरविनले चिन्न सक्छौं । भविष्य कस्तो छ ? भविष्य कस्तो आउँदैछ ? के आउँदैछ ? जनताको बहुदलीय जनवाद हामीसँग भएको कारणले त्यो कुरा हामी टाढै क्षितिजसम्म हेर्न सक्छौं । आठौ महाधिवेशनबाट झन् हामीले यसलाई मार्गदर्शक सिद्धान्त भन्यौं, । नवौमा त्यसलाई अझ व्यवस्थित गरियो । दशौँ महाधिवेशनले अथवा यस विधान महाधिवेशनले जनताको बहुदलीय जनवादलाई अझ स्पस्ट रुपमा सरल र व्यवहारिक भाषामा समेत बुझ्नेगरी जनताका बीचमा जानु पर्दछ । के हो जनताको बहुदलीय जनवाद, जनतालाई बुझाउनु पर्दछ ।
अघि मैले त्यसको अलिकति व्याख्या गरेँ, जनताको जीनवसँग, विकाससँग जनताको बहुदलीय जनवाद कसरी जोडिन्छ । राजनीतिक प्रणालीमा यो बहुदलीय व्यवस्थामा विश्वास गर्छ, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा विश्वास गर्छ र स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्छ । आवधिक निर्वाचनमा विश्वास गर्छ । संविधानको सर्वोच्तामा विश्वास गर्छ । कानूनी राजमा विश्वास गर्छ । जनताको सार्वभौमसत्तामा विश्वास गर्छ । सम्पूर्ण राज्यशक्तिको स्रोत जनता हुन् भन्नेमा विश्वास गर्छ । जनताबाट सम्पूर्ण शक्ति निश्रित हुन्छ भन्नेमा विश्वास गर्छ । लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, लोकतन्त्रका आधारभूत मूल्य मान्यता, आवधिक निर्वाचन लगायत शक्ति पृथकीकरणको सिद्धान्त र सन्तुलन तथा नियन्त्रणको परिपाटीमा विश्वास गर्छ । जन्मिँदै श्रेष्ठताको पाखण्डी सिद्धान्तमा यसले विश्वास गर्दैन । यसले मान्छे कामबाट, योगदानबाट, क्षमताबाट अगाडि जान्छ र जन्मिँदै कोही शासक हुनलाई जन्मिने, कोही जन्मिँदै राजकुमार, अधिराजकुमार, युवराज भएर जन्मिने, कोही चाहिँ दास भएर जन्मिने– जनता ठग्ने यस्ता भ्रमपूर्ण कुराहरुमा विश्वास गर्दैन । संयुक्त राष्ट्र संघको वडापत्रले अत्यन्तै महत्वपूर्ण प्रस्तावनाहरु अगाडि सारेको छ, त्यसमा विश्वास गर्छ । त्यसयताका मानवताको सम्बन्धमा, सामाजिक न्याय समानताको सम्बन्धका अनेक पक्षहरुमा विश्वास गर्छ, जुन मान्यता आजको मानव जातिले विकसित गरेको छ । यसले विज्ञान–प्रविधिमा विश्वास गर्छ, यसको विकासमा विश्वास गर्छ । त्यसो गरिरहँदा हामी हाम्रो विगतका गौरवपूर्ण इतिहास र गौरवहरुमाथि विश्वास गर्दैनौं भन्ने होइन, त्यसमा विश्वास गर्छाैं । त्यसका सकारात्मक कुराहरुलाई माथि उठाउँछौं र अगाडि बढ्छौं ।
तसर्थ म कमरेडहरुलाई भन्न चाहन्छु, राजनीतिक होस्, आर्थिक होस्, सामाजिक होस्, साँस्कृतिक होस्, राष्ट्रिय होस्, अन्तर्राष्ट्रिय होस्, आन्तरिक होस्, बाह्य होस्, मानवीय होस् वा मानव र प्रकृतिका बीचको सम्बन्धको प्रश्न होस् । यी सबै प्रश्नहरुमा जनताको बहुदलीय जनवादको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दार्शनिक कोण छ । मानवतावादी र समाजवादी कोण छ । विकासवादी यसको अर्को कोण छ । मानवजातिले अहिलेसम्म प्राप्त गरेका वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान र उपलब्धिहरुलाई यसले स्वीकार्छ र ती मानव जातिका साझा सम्पति हुन् भनेर लिन्छ । हामी यस क्रममा, यसलाई कार्यान्वयनको क्रममा जनताको बहुदलीय जनवादलाई समयक्रमलाई विकास पनि गर्दै लान्छौं । यो जडसुत्र होइन, जड सिद्धान्त होइन । यो जिवन्त रुपमा समाजमा कार्यान्वयन हुने र कार्यान्वयनका क्रममा परिमार्जित र विकसित हुँदै जाने सिद्धान्त हो । यसलाई कमा, फुलस्टप पनि फेर्न हुँदैन भन्ने कुरा पनि गलत र यो नफेरिकन हुँदैन, यति समय भइसक्यो दश वर्ष भयो, बीस वर्ष भयो, पच्चीस वर्ष भयो, यतिका अठ्ठाइस वर्षमा पनि केही पनि नफेर्ने भन्ने तर्क पनि हुन्न । दुई वर्षमा किन फेरिहाल्ने भन्ने तर्क पनि हुँदैन । त्यो सामाजिक परिवर्तनको आवश्यकतासँग, मानवीय विकासक्रमको आवश्यकतासँग, वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान र समाज विकासको क्रममा अपनाइएका सिद्धान्तहरुको क्रममा, त्यसको प्रयोगको सन्दर्भमा, त्यस कसीमा यसलाई हेरिनु पर्छ ।
आज हामीले फाटोवादका विरुद्ध जुध्नु परेको छ । एकैठाउँ बस्नै नसक्ने, एक हुनै नसक्ने । एक ठाउँ भयो कि फुटिहाल्नु पर्ने । अलिकति शक्ति आर्जन गर्यो कि फुटिहाल्नु पर्ने । सहन खप्नै नसक्ने । आफ्नो स्वार्थलाई केन्द्रभागमा राखेर फुट्ने प्रवृत्ति । यो हामीले अगाडिदेखि देख्दै आएका छौं र अहिलेसम्म पनि यो प्रवृत्ति चालु छ । जो कम्युनिष्ट आन्दोलनको एकताका लागि र विकासका लागि बहुतै हानिकारक छ । त्यसकारण हामीले आफ्नो स्वार्थ, आफ्नो पद, आफ्नो प्रतिष्ठालाई केन्द्रभागमा राखेर यसको केन्द्र वरिपरि हिसाब किताब गरेर पार्टी एकतामा नोक्सान पुग्ने खालको वा पुर्याउने खालका कुनै पनि गतिविधि गर्नु हुँदैन । हामी कुनै भ्रममा पर्नु हुँदैन । अरुले अलमलमा पार्न सक्छन् । एउटा हल्ला चलाएका छन्, भन्ने गर्छन्– नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरुले के खोजेका छन् भने यहाँ बहुत झगडा भइदिए हुन्थ्यो, मारामार भइदिए हुन्थ्यो, नेता कोही स्थापित नभए हुन्थ्यो, सबै खुइलिए हुन्थ्यो, सबैलाई खुइल्याउन पाए हुन्थ्यो । आफ्नै पार्टीभित्र अनेकथरी लाञ्छना लगाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो । अनि उनीहरु देवत्वकरणका कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौं, देवत्करण गर्दैनौं । तर पार्टीको नेतृत्व हुन्छ । नेतृत्वका वरिपरि पार्टी एकत्रित हुन्छ, आन्दोलन एकत्रित हुन्छ । यो देवत्वकरण होइन, नीतिको गुरुत्व हो र यो स्वाभाविक हो । पुष्पलालका वरिपरि, पुष्पलालले अगाडि सारेका विचारका वरिपरि हामी सबै आजसम्म गोलबन्द भएका छैनौं ? कार्लमाक्र्सले अगाडि सारेका दर्शन, सिद्धान्तका वरिपरि हामी गोलबन्द भएका छैनौं ? लेनिनका वरिपरि सिंगै रुस गोलबन्द भएन ? छरिएको किसान न हतियार छ, न केही छ, उनीहरुले माओका वरिपरि, सिंगै चीन वरिपरि भएर क्रान्ति सम्पन्न गरेका होइनन् ? त्यस्तो अवस्थामा हतियारधारी, सत्ताधारीहरुलाई खाली हात भएका, छरिएर रहेका गाउँका किसानहरुलाई एकजुट बनाएर कसरी आन्दोलन गर्न सकियो ? त्यसबेला पनि यस्ता कुरा चले । मदन भण्डारी हुँदा मदन भण्डारीलाई देख्न सकिएन । पुष्पलाल हुँदा पुष्पलालाई एउटा महाधिवेशन गर्न दिइएन । तपाईं नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैँ भइरह्यो । तपाईं नेता हो भन्ने तर महासचिव अर्कै बनिहाल्ने । पुष्पलालका विचार पास हुने, पुष्पलालका विचार एकतिर पन्छाउने, अरुले मनपरि गर्ने खालका कुराहरु रहे ।
नेतृत्व स्थापित भएन भने भन्ने सन्दर्भमा एउटा भनाई छ– नाश्यन्ते बहुनायका । नायक नै नायक भएका ठाउँमा नायकहरुको झगडा हुन्छ र नाश हुन्छ । त्यसैले नायकै नायक हुनुपर्छ तर एकताबद्ध नायक, जस्तो आज हाम्रो टिम छ । हामी थुप्रो नेता छौं तर एकताबद्ध नेता छौं । हामी एकताबद्ध भएनौं भने सबै नेता भएर बुरुक्क बुरुक्क उफ्रियौं भने जुन दिन रानो हुँदैन, मौरीको गोलो समाप्त हुन्छ । त्यसकारण अनेक प्रकारका हल्लाहरु, भ्रमहरु हाम्रो एकतालाई तोड्नका लागि चलाएका हुन्छन् । त्यो कुरासँग हामी सतर्क हुनुपर्छ । अहिले हाम्रा विरोधीहरु दुईवटा कुराले अत्यन्तै चिन्तित छन् । एउटा, म बाँचीराखेको हुनाले । यो बिरामी हुन्छ, अप्रेशन गर्छ, फेरि किड्नी फेर्छ, फेरि मेनिन्जाइटिस हुन्छ, फेरि बाँच्छ । बिरामी भयो अब त होला कि भन्यो फेरि बाँच्छ, यो एउटा कुरा । अर्को कुरा, कार्यकर्ताले, जनताले असाध्यै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन् । त्यसकारण चिन्तित छन् । बाचेकैमा चिन्तित छन् त म के गरुँ ?
म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, मलाई एउटा आफ्नो अगुवाको रुपमा, एउटा प्रिय साथीको रुपमा तपाईंहरुले जुन विश्वास दिनु भएको छ– त्यो विश्वास म एक थोपो पनि तलमाथि पर्न दिने छैन । देशको हितको विरुद्ध, जनताको हितको विरुद्ध, प्रगतिको विरुद्ध, पार्टीको हितको विरुद्ध एउटा पनि कदम मबाट चालिने छैन । म व्यक्तिको रुपमा होइन, म नेकपा एमालेको अध्यक्षका हैसियतमा भन्दै छु । नेकपा एमालेलाई बहुमतमा पुर्याएर यस्तोउस्तो मधु–कैटभले हल्लाउन नसक्ने खालको बहुमतमा पुर्याएर छोड्ने छु । कमलको पूmल भए हल्लाउँदा रहेछन् । अब हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा पुर्याएर छोड्ने छु । त्यसकारण तपाईंहरुको विश्वास एउटा साथीको रुपमा, पार्टीको तपाईंजस्तै कार्यकर्ताको रुपमा अथवा आफ्नो अगुवाको रुपमा, आफ्नो नेताको रुपमा तपाईंहरुले जुन विश्वास गर्नु भएको छ, त्यो एक इन्च पनि तलमाथि, एक सेन्टिमिटर तलमाथि, एकसुका तलमाथि पर्न दिने छैन । यो कुरा मैले आफ्नो सिंगो जीवनलाई आन्दोलनप्रति समर्पित गरेर पनि देखाएको छु । र, ७० वर्षसम्म यस्ता कठीन दिनमा त देखाएँ भने अब त त्यति कठीन दिन सायद नआउलान् ।
आज हाम्रो मूल नारा छ, ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने र ‘जबज’को मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने ।’ हाम्रो पार्टी निर्माणको कुरा र समाज निर्माणको दुईवटै कुरा यस मान्यताभित्र समेटिएको छ भन्ने मलाई लाग्छ । दक्षिणपन्थी अवसरवादले संगठन निर्माण हुन दिँदैन । यसले जझारु, क्रान्तिकारी, परिवर्तनकारी ढंगले अगाडि बढ्न दिँदैन र संगठनात्मक अराजकताले पार्टीलाई एकढिक्का हुन, एकजुट भएर अगाडि बढ्न दिँदैन । त्यसकारण यसलाई हामीले परास्त गर्नै पर्छ र जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्दै हामी अगाडि बढ्नु पर्छ । यसले मात्रै हामीलाई समाज परिवर्तनको बाटोमा अगाडि लगाउँछ ।
हाम्रो पार्टी केका लागि ? ठूलो पार्टी बनाउन, ठूलो पार्टी देखाउनका लागि हो र ? हाम्रो पार्टी देशको परिवर्तन गर्नका लागि हो । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि हो । यस देशबाट गरिबी हटाउनका लागि हो, अशिक्षा हटाउनका लागि हो, पछौटेपन हटाउनका लागि हो । जलगँैडाको ज्यानजस्तो ठूलो हुनका लागि हो र ? यो कामकाजी पार्टी हो, देश र जनताको सेवक पार्टी हो । सेवकको हिसाबले नै हामी देश र जनताका निम्ति काम गर्छाैं । हामीलाई ठूलो हैसियत किन चाहियो ? ठूलो पार्टी किन चाहियो ? यसकारण कि हामीलाई देश बनाउनु छ । देश बनाउनका लागि हामीलाई ठूलो पार्टी चाहियो । हामी तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आह्वान किन गर्दछौं ? आग्रह किन गर्दछौं ? हामी उहाँहरुलाई हामीलाई समर्थन दिनुस्, हामीलाई साथ दिनुस्, हामीलाई भोट दिनुस् किन भन्छौं ? यसकारण भन्छौं कि हामी बाहेक उहाँहरुको दुःख कष्ट हर्ने कोही छैन, गरिबी हटाइदिने कोही छैन, अशिक्षा हटाइदिने कोही छैन, पछौटेपन हटाउने कोही छैन । हामी बाहेक उहाँलाई समृद्धि दिने कोही छैन । यसको प्रमाण त हामीले सय दिनमा के काम गर्यौं भनेर देखाएका थियौं । मैले सरकार बनेको एक महिनामा सम्बोधन गर्दा एक महिनामा के काम गर्यौं भनेर देखाएका थिएँ । अहिले देखिहाल्नु भएको छ– अढाई महिनामा सरकार पनि बन्दैन । आफ्ना निम्ति, झगडा छ, स्वार्थका निम्ति झगडा छ, बाँडफाँडको झगडा छ ।
हामीले भूमिहीन, गरिब सुकुम्वासीका लागि जे काम गर्ने भन्यौं, आयोग बनायौं । सबै काम भइसक्यो, ठिक्क धनी पूर्जा दिने, जमिनको समस्या समाधान गर्ने बेलामा आयोग भंग गरिदिए । हामी सरकारबाट हट्यौं, सुकुम्वासीका सपना खेर गए । हामी सरकारबाट बाहिरियौं, भूमिहीनका सपना बाहिरिए । हामी सरकारबाट हट्यौं, सबै कुरा हट्यो । हामी भनिराखेका थियौं, यस वर्ष सन् २०२१ भित्र मेलम्चीको बाटो बनाएर हेडवक्र्स सफा गरेर हामी जनवरी पहिलो तारेखसम्ममा काठमाडौंमा पानी झार्छौं । उनीहरु सरकारमा आउने बित्तिकै वैशाखमा भने । म दावाका साथ भन्छु, वैशाखमा यिनीहरुले पानी झार्न कुनै हालतमा पनि सम्भव छैन । काम नगरी कुनै टुनामुनाले यसै पानी आउँछ ? बाटो बनाउनु परेन ? बाटो बनाएर त्यहाँ सफा गर्नु परेन ? त्यसकारण यो बन्नेवाला छैन । सम्भवत १५ महिनापछि, चुनावपछि नेकपा एमालेको सरकार आउँछ, त्यसपछि यो काम थाल्छौं । त्योभन्दा यता थाल्नेवाला छैनन् ।
म अहिलेको सरकारले सुन्नेगरी भन्न चाहन्छु, सरकारले सुनोस्– ठीक छ, वैशाखभित्र काठमाडौंमा पानी झारेर देखाओस् । आफैंले भनेको कुरा, उसले नापेर, जोखेर भनेको कुरा पूरा गरेर देखाओस् । वैशाखसम्म काठमाडौंमा पानी झारेर देखाओस् । इख छ भने देखाउ न कमसेकम । प्रतिपक्षीलाई मेख मार्नेगरी त्यति गरेर देखाउ । गोदावारीमा गएर केपी ओलीले सक्दैन सरकारले भन्ने बोलेको थियो, यी हामीले पानी झार्यौं भनुन् न कमसेकम । अँ, त्यति त गर्यो भनेर मैले भन्नु पाउँ न कमसेकम । तर त्यो भन्नु पर्नेवाला छ्रैन । मैले वैशाखमा फेरि भाषण गर्नेछु– वैशाखमा पानी झार्ने भनेको झारेनन्, यिनीहरुले सक्दैनन्, फेरि दोर्याउने छु ।
अहिलेको सरकारका बारेमा मैले धेरै केही भनिरहनु पर्दैन, बेहाल अवस्थाको छ । नेपालको आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन्, हो कि होइन पनि भन्न सक्दैन । हो भने हो भने हुन्थ्यो, होइन भने होइन भने हुन्थ्यो नि । हो कि होइन ? अहिलेसम्म पनि चुप्प छ । तुइन काटेर झराएर नेपालीलाई मराइन्छ । सरकार पत्रकारलाई सर्कुलर गर्छ– ‘नबोल’ । छानबिन समिति बनाउँछ, त्यसले भन्छ, ‘यस्तो दुर्घटना भएकै हो, यसरी तुइन काटिएकै हो ।’ त्यो रिर्पोट लुकाउन उसलाई आयातवा हुन्छ । दक्षिणतिर फर्किएर बोल्न पनि सक्दैन । आफ्नो नागरिकका लागि, आफ्नो देशको हक अधिकारका लागि, आपूmले न्याय पाउनसम्मका लागि बोल्न सक्दैन भने कस्तो सरकार होला ? अरुलाई अरुको धन्दा यो सरकारलाई खानको धन्दा । खान बाहेक यसको ध्यान अन्त छैन ।
मैले अघि नै भनेँ, अब आगामी दिनका हाम्रा कार्यभारहरु नेपाली जनताले बुझ्ने भाषामा लिएर जनताबीच जानु पर्छ । हामीले स्थानीय तहको निर्वाचन जित्नै पर्नेछ । संघीय र प्रदेश तहका निर्वाचन जित्न पर्नेछ र त्यहाँ हामीले अत्यधिक सफलता प्राप्त गर्नु पर्नेछ । सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा हामीले फेरि आफ्नो वर्चश्व जमाउनु पर्नेछ । एमालेको बहुमतको संघीय सरकार, सुदृढ सरकार बनाउनु पर्दछ । यो किन ? यो किन गर्नु पर्नेछ भने, हामीले देशको विकास गर्नु पर्नेछ, देश बनाउनु पर्नेछ, गरिबी हटाउनु पर्नेछ, कृषिको आधुनिकीकरण गर्नु पर्नेछ । पर्यटन ध्वस्त भएको छ, पर्यटनलाई माथि उठाउनु पर्नेछ । उद्योगहरु स्थापना गर्दै हामीले विभिन्न ठाउँमा औधोगिक क्षेत्रहरु निर्माण गरेका छौं । ती औधोगिक क्षेत्रहरुमा उद्योगहरु स्थापना गर्नु पर्नेछ । हाम्रो आफ्नो पूँजी अधिकतम परिचालन गर्नु पर्नेछ । हाम्रा जनतालाई शिक्षा र सीप उपलब्ध गराएर उत्पादनमूलक, रोजगारीमूलक र उत्पादन वृद्धि र उत्पादकत्व वृद्धि गराउनु पर्नेछ । हामीले हाम्रो देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सिफारिस गराएका छौं । त्यसलाई अब सहज ढंगले स्तरोन्नति हुने ठाउँमा पुर्याउनु परेको छ । हामीले दीगो विकास लक्ष्य सन् २०३० भित्र भेट्नु पर्नेछ । दीगो विकास भित्र १७ वटा लक्ष्यहरु छन् । दीगो विकास एउटा लक्ष्य हो, उद्देश्य हो, गन्तव्य हो । त्यसभित्र १७ वटा मूल लक्ष्यहरु र १ सय ६९ वटा सहयोगी लक्ष्यहरु, उपलक्ष्यहरु छन् । ती उपलक्ष्यहरु समेत हामीले प्राप्त गर्नु पर्नेछ । यहाँ शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र, उद्योगको क्षेत्र, व्यापारको क्षेत्र, मानव विकास सूचाकाङ्कका अनेक क्षेत्रहरु, सामाजिक जागरणका क्षेत्र, महिला उत्थानका क्षेत्र, पछाडि परेका समुदायलाई अगाडि ल्याउने क्षेत्र– यी सबै कार्यभार हाम्रा अगाडि छन् । त्यसकारण यी कार्यभारहरुलाई ध्यानमा राखेर हामी अगाडि बढ्नु पर्नेछ ।
आदरणीय कमरेडहरु !
यहाँहरुले दिनु भएका सुझावहरुलाई तदनुसार नै मनन गरिएको छ । मैले अहिले भनेका कुराहरुमा पनि यहाँहरुले भनेका कुराहरु मनन गरेको स्पस्ट हुन्छ । त्यसै गरेर संगठनात्मक प्रस्तावको सम्बन्धमा कमरेड महासचिवले जुन कुराहरु बिफ्रिङ गर्नु भएको छ, त्यसले पनि त्यो कुरा प्रकट गरेको छ । त्यसै गरेर विधानसम्बन्धी प्रश्नमा संगठन विभाग प्रमुख उपमहासचिवले जुन विश्लेषणहरु, निष्कर्षहरु तपाईंहरुलाई सुनाउनु भएको छ, त्यसले पनि स्पस्ट पारेको छ । त्यसकारण यी कुराहरुलाई समावेश गरेर नै हामी अन्तिम रुपमा दस्तावेजहरु प्रकाशित गर्नेछौं ।
हामी मंसीर १०–११–१२ गते तय गरिएको दशौँ राष्ट्रिय महाधिवेशनतर्फ अगाडि बढ्ने छौं । यस बीचमा हामीले विभिन्न तहका अधिवेशनहरु गर्नु पर्नेछ । जिल्ला अधिवेशन पनि बिलम्व गर्न जरुरी छैन । किनभने जिल्ला अधिवेशन बिलम्व गर्यो भने स्थानीय तहको निर्वाचनलाई प्रतिकूल असर पार्न सक्छ । त्यसकारण बिलम्व नगरिकन सबै अधिवेशन गरेर संगठनात्मक रुपले हामीले चुस्त दुरुस्त एकताबद्ध भएर तयारी गर्नु पर्छ । कुनकुन तहले के के काम गरेर कुनुकुन तह जित्नु पर्ने हो ? कसरी जित्नु पर्ने हो ? ती कुरा तय गरेर उम्मेदवार छनोटदेखि लिएर, प्रतिस्पर्धीदेखि, प्रतिस्पर्धाको ढाँचाकाँचा कस्तो हुन्छ ? त्यसलाई हेरेर हामी अगाडि बढ्नु पर्नेछ । हामीले दुई दिन अगाडिदेखि सुनिरहेका छौं– अहिले नेकपा एमालेका विरुद्ध एक्लाएक्लै लड्न सकिंदैन । अब २०६४ कै जसरी, कब्जा गरेर हुन्छ कि, जे गरेर हुन्छ, कि मतपत्र च्यातेर हुन्छ कि बत्ति निभाएर हुन्छ जित्नु पर्यो भनिरहेका छन् । त्यसो नगरे जित्न सकिंदैन भनिसके । तर, हामीले मतपत्र च्यात्न दिने स्थिति बनाउँनु हुँदैन । मतपत्र च्यात्नबाट रोक्नु पर्दछ । बत्ती निभाएर बाकस साट्ने कुरा हामीले बन्द गराउनु पर्दछ । वैकल्पिक व्यवस्था गर्नु पर्दछ । कहीँ पनि हामी अन्यायका अगाडि झुक्दैनौं, अन्याय गर्दैनौँ । धाँदली गर्दैनौं धाँदलीका अगाडि झुक्दैनौं । कहीँ पनि हामी गुण्डागर्दी गर्दैनौं । गुण्डागर्दी गरेर कसैले जित्छु भन्ने ठान्छ भने, त्यो कल्पना नगरे हुन्छ भन्ने कुरा बताइदिन चाहन्छु । नेकपा एमालेले सबै ठाउँमा त्यसको तयारी गर्नेछ । यी कामहरुमा जुट्न म कमरेडहरुलाई आह्वान गर्दछु ।
कमरेडहरुको उत्साहपूर्ण सहभागिता र सुझावहरुका लागि फेरि एकपटक सबै कमरेडहरुमा हार्दिक धन्यवाद भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु ।
धन्यवाद !
धाँदली गर्दैनौं धाँदलीका अगाडि झुक्दैनौं । कहीँ पनि हामी गुण्डागर्दी गर्दैनौं । गुण्डागर्दी गरेर कसैले जित्छु भन्ने ठान्छ भने, त्यो कल्पना नगरे हुन्छ भन्ने कुरा बताइदिन चाहन्छु । नेकपा एमालेले सबै ठाउँमा त्यसको तयारी गर्नेछ । यी कामहरुमा जुट्न म कमरेडहरुलाई आह्वान गर्दछु ।
कमरेडहरुको उत्साहपूर्ण सहभागिता र सुझावहरुका लागि फेरि एकपटक सबै कमरेडहरुमा हार्दिक धन्यवाद भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु ।
धन्यवाद !
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यूले पार्टीको प्रथम विधान महाधिवेशनका क्रममा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुमाथि दिनुभएको जवाफको पूर्णपाठ :
२०७८ असोज १७, गोदावारी, ललितपुर
प्रतिक्रिया