अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वडा अधिवेशन : तनहुँका ७१ वडामा सर्वसम्मत, अधिकांशमा पुरानै अनुहार

एमाले वडा अधिवेशन : तनहुँका ७१ वडामा सर्वसम्मत, अधिकांशमा पुरानै अनुहार


तनहुँ- नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनले तनहुँको ७१ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका १० स्थानीय तहमा ८५ वडा छन् । बाँकी १४ मध्ये नौ वडामा पनि आइतबार सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेको पाँच वडाको नेतृत्व सोमबारसम्म चयन हुनेछ ।

शनिबार शुक्लागण्डकी नगरपालिकाको १२ वटै वडामा अधिवेशन सकिएको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पनि सबै वडाको अधिवेशन सकिएको हो । व्यास नगरपालिकामा १२ वडामा अधिवेशनले नेतृत्व चयन गरे पनि दुईमा अझै बाँकी छ । भिमाद नगरपालिका र देवघाट गाउँपालिकाका दुई दुई वडामा अधिवेशन सम्पन्न भएको छैन् । सबैभन्दा धेरै ऋषिङ गाउँपालिकाका पाँच वडामा नेतृत्वको टुंगो लाग्न सकेको छैन । भानु नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाको एकएक वडामा अधिवेशन हुन बाँकी छ । सबै वडामा सर्वसम्मत गराउन जिल्ला, प्रदेश र केन्द्रीय कमिटिमा रहेकालाई प्रतिनिधि रुपमा खटाएको एमाले तनहुँले जनाएको छ ।

देवघाटका दुई र ऋषिङ, म्याग्दे र व्यासका एकएक वडाबाहेक अरु बाँकी वडामा आईतबार सर्वसम्मत नेतृत्व चयन हुने जिल्ला अध्यक्ष सिग्देलले बताए । व्यास–८ र म्याग्दे–४ मा अधिवेशन गर्नलाई मापदण्ड नपुग्ने भएकाले भेलामार्फत गठन गरिनेछ ।

नेतृत्वमा पुरानै अनुहार

अधिवेशन सकिएका अधिकांश वडाको अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । माओवादीसँग एकता भएर बनेको नेकपाको वडा कमिटिमा एमालेको तर्फबाट वडा कमिटि अध्यक्ष बनेका र एकता प्रकृया भंग भएपछि एमालेले गठन गरेको तदर्थ वडा कमिटिमा अध्यक्ष बनेका पुरानै अनुहार वडा अधिवेशनमार्फत दोहोरिएका हुन् ।

वडामा पुरानै अध्यक्ष दोहोरिनु स्वभाविक भएको जिल्ला अध्यक्ष सिग्देल बताउँनुहुन्छ । ‘हिजो माथिल्लो कमिटिले वडाका पदाधिकारी चयन गर्दै आएको थियो । एकता प्रकृया भंग भएपछि तदर्थ समिति बनेका थिए । अहिले आएर अधिवेशनमार्फत कमिटिले पूर्णता पाएको हो । अधिवेशनबाट निर्वाचित भएर आउने रहर भएकाले दोहोरिएका हुन् । पुरानो अनुहार भन्न मिल्दैनन्, फ्रेस नै हो’, उहाँले भन्नुभयो ।

९ कात्तिकमा हुने पालिका अधिवेशनको तयारी पनि तनहुँमा तिव्र पारिएको छ । १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा एमाले छ ।