बुटवल – विश्व पोलियो दिवसका अवसरमा बुटवलमा जनचेतनामूलक र्याली निकालिएको छ । रुपन्देहीका १९ वटा रोटरी तथा रोटर्याक्ट क्लबहरूले संयुक्त रुपमा र्यालीको आयोजना गरेका हुन् ।
रोटरी इन्टरनेसनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ ।
सन् २०१० को अगस्त १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल पोलियोमुक्त भए पनि पोलियो उन्मुलन भइनसकेकाले सचेत रहन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् ।
एक तथ्यांकअनुसार विकसित मुलुकका बालबालिकाले नियमित खोप कार्यक्रममा ३२ प्रकारका रोगविरुद्धको खोप पाउँछन् भने नेपालमा ११ प्रकारका रोगविरुद्वको खोपहरू विभिन्न दातृ निकायहरूको सहयोगमा सरकारले निःशुल्क रूपमा उपलव्ध गराउँदै आएको छ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य संघसंस्थाहरूसँग मिलेर २०५३ सालदेखि पोलियोलगायत अन्य खोप कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया