बागलुङ – नेकपा (एमाले) ले बागलुङको ८५ मध्ये ७१ वडामा नयाँ नेतृत्व चयन गरेको छ । देशव्यापी रुपमा शनिबारदेखि एकै साथ शुरु भएको अधिवेशनले आगामी पाँच वर्षको लागि वडा कमिटिको नेतृत्य चयन गरेको हो ।
स्थानीय तह निर्माण भएपछि वडा अधिवेशन पहिलो पटक भएको हो । एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठकका अनुसार निसीखोला गाउँपालिकाको वडा नम्बर-१, ढोरपाटन नगरपालिकाको वडा नम्बर-९ र १०, जैमिनी नगरपालिकाको ६, बरेङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५, तमानखोला गाउँपालिकाको ६ वटै वडामा अधिवेशन भएको छैन ।
तयारी पूरा नभएको हुँदा तत्काललाई समस्या भएको पाठकले बताउनुभयो । अधिवेशन शुरु भएको सबै वडाका सकिएपछि बाँकी वडामा एकै साथ नेतृत्व चयन गर्ने पाठकको भनाइ छ । एमाले वडा कमिटिको नेतृत्वमा धेरैजसो पाको पुस्ताका नेता चुनिएका छन् ।
अब ९ कात्तिकमा सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीको यही ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
आगामी १० देखि १२ मंसिरसम्म एमालेको दसौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चैत २०७७ मसान्तसम्म पार्टी सदस्य भएकाहरू महाधिवेशन प्रतिनिधि बन्न योग्य हुनेछन् ।





प्रतिक्रिया