विराटनगर – बाढी पहिरोले पुर्याएको क्षति निरीक्षण गर्न आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किनुभएको छ । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किनुभएपछि बाढीपहिरो पीडित निराश भएका छन् ।
प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी काठमाडौं फर्किएपछि पीडितहरूले दुःख मनाउ गरेका छन् । पीडितहरूलाई नभेटेका प्रधानमन्त्रीले पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीमार्फत भने बाढीपहिरो पीडितको अवस्था बारे जानकारी लिनुभएको थियो । राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पहिरोले पुर्याएको क्षति बारेमा जानकारी गराइ रहँदा प्रांगणमा भने बाढीपहिरो पीडितहरू प्रधानमन्त्रीलाई कुरा राख्न पाउने आशामा थिए । देउवाले प्रमुख जिल्ला अधिकारीको कुरा सुनेपछि काठमाडौं पुगेर राहत प्याकेज ल्याउने आश्वासन दिनुभएको छ ।
संक्षिप्त मन्तव्य राखेका देउवाले बाढी र पहिरोले पुर्याएको क्षतिको लगत संकलन भएपछि राहत घोषणा गर्ने बताउनुनभयो । यसअघि प्रदेश १ मा बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा विराटनगर विमानस्थलमा उत्रिनुभएको थियो । त्यहाँ उहाँ चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले पुर्याएको क्षतिको बारेमा जानकारी लिनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा प्रदेशका आन्तरिक मामिला मान्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा प्रदेश बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश १ का मुख्यसचिव डा. रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढीपीडितको उद्धार, राहत र पुर्नस्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराउनुभयो ।
मुख्यसचिव घिमिरेका अनुसार बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको बारेमा जानकारी लिनुभएपछि प्रधानमन्त्री देउवाले उद्धार र राहतमा लाग्न निर्देशन दिनुभएको हो । उहाँले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरी बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिनुभयो ।
बाढीले ज्यान गुमाएका पीडित परिवारले भेट्नै पाएनन्
बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा पनि प्रधानमन्त्री देउवालाई बाढीपीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहवी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माग पत्र बुझाएका छन् ।
सुनसरीको पकलीबाट सिधैं हेलिकोप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् ।
सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लागत संकलन भएपछि राहत कार्यक्रम ल्याउने बताउनुभयो ।







प्रतिक्रिया