अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथर बस दुर्घटना घाइतेको संख्या ६४ पुग्यो

पाँचथर बस दुर्घटना घाइतेको संख्या ६४ पुग्यो


पाँचथर – पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । घाइतेहरूमध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११:३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो ।

अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करीब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् ।

दशैंमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।