महोत्तरी – मनरा सिस्वा नगरपालिका–५ मा भएको पुनः मत गणनाप्रति कांग्रेसबाट विजयी वडा अध्यक्ष अरुणकुमार चौधरीले आपत्ती जनाउनुभएको छ । स्वतन्त्र उम्मेदवार रमेश रायले २६७ मतको दाबीसहित मुद्दा दायर गरे पनि २६८ मत कसरी आयो भन्नेमा चित्त नबुझेको उहाँले बताउनुभयो । उहाँले कानूनी उपचार खोज्ने बताउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार रायले २६८ मत अर्थात् कांग्रेसबाट विजयी हालका वडा अध्यक्ष अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार रमेश रायले चौधरीको भन्दा दुई मत बढी ल्याएर विजयी हुनुभएको हो । तर आयोगले मतगणनामा पक्षपात गरेको भन्दै उक्त मत परिणामलाई स्वीकार गर्न नसकिने चौधरीको अडान छ । ‘रायले ल्याएको भनिएको २६८ मतमाथि प्रश्न चिन्ह खडा हुन्छ । कानूनी उपचार खोज्ने बारे छलफल भइरहेको छ । यो परिणाम कुनै पनि हालतमा स्वीकार्य छैन,’ चौधरीले भन्नुनभयो ।
२ असोज २०७४ भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार अरुणकुमार चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ मत आएकोमा निर्वाचन अधिकृतले चौधरीको तीन वटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।
निर्वाचन आयोगले गोलाप्रथाद्वारा कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रमेश रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
६ चैत २०७७ उच्च अदालत जनकपुरको आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोना महामारीका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्च अदालत जनकपुरको इजलास नम्बर २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक २०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो ।
यस्तो छ कांग्रेसको भनाइ
सर्वोच्च अदालतको फैसला र मतगणनापछि आएको परिणामलाई कांग्रेसले भने स्वागत गरेको छ । चार वर्षपछि भएपनि स्वतन्त्र उम्मेदवार रमेश रायले न्याय पाएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।
महोत्तरीका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य चिरञ्जीवी हमालले अदालतले गरेको फैसलालाई अरुण चौधरीले समेत स्वीकार गर्नुपर्ने बताउनुभयो । यसैगरी, जनप्रतिनिधिहरूले समेत मत परिणाम अदालतको निर्देशनअनुसार नै भएको र यो विषयमा आफुहरूले केही बोल्न नमिल्ने बताएका छन् ।





प्रतिक्रिया