अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथर बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ६१ घाइते

पाँचथर बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ६१ घाइते


पाँचथर- फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । अर्को सवारी साधानलाई उछिन्ने क्रममा बस सडकबाट करिब २० मिटर तल सडकमै खसेको थियो ।