अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउने पौडेलको दाबी

तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउने पौडेलको दाबी


बुटवल – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गर्नुभएको छ ।

रुपन्देहीमा पार्टीको तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशनको मंगलबार उदघाटन गर्नुहुँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गर्नुभएको हो ।

‘सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ,’ उहाँले भन्नुभयो, ‘तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’

पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको दाबी गर्नुभयो । ‘एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ,’ उहाँले भन्नुभयो ।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताउनुभयो ।

रुपन्देही एमाले इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।