अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ :  केशव बडाल  

प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ :  केशव बडाल  


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पार्नुभयो ।

बडाल भन्नुहुन्छ- ‘महाभियोग लगाउने कि नलगाउने त्यो हाम्रो विषय होइन । गठबन्धन सरकारमा १६५ जना सांसदहरुको गणित छ,  उहाँहरुले के गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो । एमाले महाभियोगको विषयमा अघि बढ्न आवश्यक छैन । महाभियोग वा राजीनामा दिने यो हाम्रो चासोको विषय होइन ।’

उहाँले आजको अवस्थामा पुर्‍याउनको लागि कसले बाध्य बनायो यो मुख्य विषय भएको पनि टिप्पणी गर्नुभयो । उहाँले हिजो तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन हुँदैन भनेर आफूले सशक्त आवाज उठाएको पनि स्मरण गराउनुभयो ।

बडालले संविधानलाई च्यातचुत गर्न र एमालेलाई सिध्याउन जेसुकै गर्ने काम यो बीचमा भएको भन्दै गुनासो पोख्नभयो । उहाँले भन्नुभयो, ‘अहिले जुन विषय उठिरहेको छ, पाँच जनाको इजलासले यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाउन भनेर परमादेश जारी गर्ने काम भयो, म त भन्छु अहिले किन प्रधानन्यायाधीशलाई मात्रै पाँचै जनालाई कारबाही हुनुपर्छ ।’

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग लगाउने भनेर नभनेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो विषयमा पनि गठबन्धनको तीन थरीको कुरा आएको छ ।’ हिजो एमाले नेतृत्वको सरकारले जनतामा जाने भन्दा प्रतिगमन हो भनिएको उल्ल्लेख गर्दै उनले मुलुकलाई अहिलेको गञ्जागोलको स्थितिमा ल्याउनको लागि विगत दुई वर्षदेखि षड्यन्त्र भएको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यो परिस्थितको सिर्जनाकार गठबन्धन हो ।’ उहाँले हिजो गरेको सेटिङको परिणाम अहिले छताछुल्ल भएको पनि टिप्पणी समेत गर्नुभयो ।