तनहुँ – नेकपा एमालेले तनहुँका तीन पालिका सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरेको छ । व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत गाउँ तथा नगर कमिटी चयन गरिएको हो ।
मंगलबार राति व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । लामो छलफलपछि अध्यक्षका आकांक्षी तुल्सीराम पाण्डे उपाध्यक्षमा बसेपछि व्यासमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएका छन् ।
आँबुखैरेनी गाउँपालिकामा मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ । त्यस्तै उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, उपसचिवमा पूर्णबहादुर आले र जमालदिन मियाँ चयन हुनुभएका छन् ।
बन्दीपुर गाउँ कमिटी अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत चयन हुनुभएका छन् । थापाको नेतृत्वमा ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो । त्यस्तै उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, उपसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन हुनुभएका छन् ।
शुक्लागण्डकी नगरपालिका अध्यक्षमा मुक्ति तिम्लिसिना र सचिवामा रघुनाथ पौडेल सर्वसम्मत चयन हुनुभएका छन् । यी दुवै यसअघि पनि सोही पदमा हुनुहुन्थ्यो । अन्य पदमा आकांक्षी धेरै हुँदा सहमति हुन सकेको छैन ।
मंगलबार अधिवेशन शुरु भएको भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । दुई नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।
घिरिङ गाउँपालिकामा अधिवेशन शुरु भएर १५ गतेसम्मलाई स्थगित गरिएको छ । वडाबाट पालिका प्रतिनिधि छनोट लगायतका काम अधुरो रहेकाले अधिवेशन शुरु गरेर स्थगित गरिएको हो ।
ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको अधिवेशन शुरु हुन सकेको छैन । अब ऋषिङको ११, देवघाटको १४ र म्याग्देको १५ कात्तिकमा अधिवेशन हुने एमाले तनहुँले जनाएको छ ।
प्रतिक्रिया