अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीको हत्यामा संलग्न नौ जनालाई जन्मकैद

प्रहरीको हत्यामा संलग्न नौ जनालाई जन्मकैद


धनगढी – ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले नौ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

१ कात्तिक २०७७ मा धनगढी उप–महानगरपालिका–११ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी निरीक्षक बिक र जवान साउदको मोहनाघाटमा हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले ४ कात्तिकमा सात जना र त्यसपछि थप तीन जना गरी १० जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये केराउ व्यापारी तथा घटनाका मुख्य डिजाइनर भनिएका राजीव गुप्ता यसअघि धरौटीमा छुटेका थिए । उहाँले भने मंगलबार सफाइ पाएका छन् । पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका अन्य नौ जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । मंगलबारको पेशीमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

जन्मकैद सजाय पाउनेमा धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, धनगढी–११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

१ कात्तिक ०७७ मा भारतबाट अवैध रुपमा केराउ नेपालतर्फ ल्याउने क्रममा नेपाल–भारत सीमाक्षेत्र मोहनाघाटमा प्रहरीले रोक्न खोजेपछि हत्या गरिएको पक्राउ परेका नौ जनाले स्वीकार गरिसकेका थिए ।

अदालतको फैसलाले प्रहरीको मनोबल बढेको छ : डिएस्पी

जिल्ला अदालत कैलालीले प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुनाएकोमा प्रहरीले स्वागत गरेको छ । ‘अदालतको निर्णयपछि ड्युटीमा रहेका प्रहरीलाई हातपात गर्दा कानुनले छाड्दैन भन्ने सन्देश गएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएस्पी प्रतिक विष्टले भन्नुभयो, ‘यसले प्रहरीको मनोबल बढेको छ ।’ उहाँले अदालतको फैसलापछि प्रहरीलाई काम गर्न सजिलो हुने बताउनुभयो ।