काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थाहरुलाई अविलम्ब कारबाहीसहित बढी लिएका रकम सम्बन्धित विद्यार्थीहरुलाई फिर्ता गर्न माग गरेको छ ।
अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय अन्तरगतकै चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक संस्थाहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क बिपरीत विभिन्न शिर्षकमा मनोमानी रुपमा विद्यार्थीबाट बढी शुल्क उठाउने काम गरिरहेको भन्दै यस्तो माग गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकलाई फाइदा पुग्ने गरी अत्याधिक मात्रामा शुल्क वृद्धि गरेकोमा गम्भीर ध्यानार्कषण गराइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी हुने गरी विद्यार्थीहरुबाट शुल्क उठाउने कुराको साक्षी रहन सक्दैनौं । माग सम्बोधन नभएको खण्डमा पीडित विद्यार्थीहरुको न्यायका पक्षमा हामी कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौ र जसबाट उत्पन्न हुने परिणामको जिम्वारी स्वयं चिकित्सा शिक्षा अध्ययन संस्थान हुनेछ ।’






प्रतिक्रिया