काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले सपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक-एक जना मन्त्री बनाउने तयारी गरेका छन् ।
पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, कांग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले सपथ लिने भएका छन् । उहाँहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।
कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले पनि मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको बताउनुभयो
प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहनुभएकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिनुभएको थियो । उहाँको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । त्यस लगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
प्रतिक्रिया