काठमाडौं – बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टीभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसक्नुभएकी उहाँ एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताउनुभयो । त्यतिखेर उहाँ सामान्य किशोरी हुनुहुन्थ्यो, स्टार हुनुहुन्थेन । अमेरिकाको एक स्कूलमा पढ्दाताका उहाँलाई सहपाठीले ‘ब्राउनी’ भनेर गिज्याउने गर्थे ।
एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भन्नुभएको छ, ‘मसँग बसेर खाना खान मन पराउँदैनथे । किनकि, मेरो छालाको रङ गोरो थिएन ।’ त्यो तीतो अनुभवका कारण आफ्नो आत्मविश्वास समेत गुमेको बताउँदै आमाले सम्झाएर मात्र आफू यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो । ‘आमाले सम्झाउनुभयो,’ उहाँले भन्नुभयो, ‘तिमी जस्ती छौ, त्यस्तै सुन्दर छौं । कसैका लागि आफूलाई बदल्नु पर्दैन ।’ विश्वसुन्दरी हुँदै बलिउडमा प्रवेश गरेपछि प्रियंकाले गोरो हुने क्रिमको विज्ञापन गर्नुभयो ।
अमेरिकामा साथीसंगीले जिस्काउँदा आफूले गोरो हुने क्रिम प्रयोग गरेको बताउनुभयो । ‘एक रात विज्ञापन गरेर घर फर्किंदा मैले सोचेँ- म के गर्दै छु ?,’ उहाँले भन्नुभयो, ‘कसरी झुटो सपना बेच्न सक्छु ? किन मैले आफ्नो रङलाई स्विकार्न नसकेको ? मैले नै यसो गरेँ भने देशका हजारौँ महिलाले क्रिम लगाएर गोरो हुने सपना देख्लान् । जबकि, हामीले आफ्नो छालाको रङलाई सहज रूपमा लिनुपर्छ । त्यसदिनदेखि मैले आफ्नो गहुँगोरो रङलाई स्वीकार गरेँ ।’





प्रतिक्रिया