काठमाडौँ – पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा सर्वोच्च अदालतका बिहीबारका सबै सुनुवाइ स्थगित भएका छन् । लम्सालको निधनमा शोक प्रस्ताव जारी गर्दै सुनुवाइ स्थगित भएको हो ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायाधीशहरुको बहिष्कारका बीच आज पनि इजालास तोकेका थिए । जवराकोको राजीनामा माग्दै इजलास अघोषितरुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उहाँले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् ।
जवराले जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरुसहित २८ मुद्दा आफ्नै इजलासमा राखेर पेशी तोके पनि आज सुनुवाइ नभएको हो ।
न्यायाधीहरुले सोमबारदेखि इजलास बहिष्कार गरेपछि उहाँले बुधबारदेखि मुद्दा हेर्न थाल्नुभएको थियो । उहाँले बुधबार आफ्नो एकल इजलासमा पाँच मुद्दा राखेकामा लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो । यस्तै सम्पत्ति शुद्धीकरणको मुद्दामा निवेदन फिर्ता हुने आदेश गरेका थिए भने बन्दी प्रत्यक्षीकरणको दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरेका थिए । यसअतिरिक्त कालोबजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरको मुद्दामा कैफियत प्रतिवेदन मागसहित तीनवटामा फैसला र दुईवटामा आदेश गरेका थिए ।
न्यायाधीशरुले इजलास बहिष्कार गरे पनि जवराले दैनिक पेसी भने तोक्दै आएका छन् । उहाँले बिहीबार वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा रहेको बृहत् पूर्ण इजलास तोकेका थिए ।
बिहीबार बृहत् इजलाससहितका १६७ मुद्दाको पेसी चढाए पनि सुनुवाइ नभएको हो ।
स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि कैयौं भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।
न्यायाधीशरु, पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन तथा न्यायीक क्षेत्रसँग सम्बन्धित संगठनले उनको राजीनामा मागे पनि उनले राजीनामा नदिने बरु महाअभियोग सामना गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।





प्रतिक्रिया