अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त 

बाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त 


मकवानपुर- बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१०) बाट विजयी बनेका पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार हिजो मार्गप्रशस्त गर्नुभएको थियो । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न हिजो २४ घन्टाको समय सीमा दिएको थियो ।

प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

बाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिक रूपमा नेताहरूबाट पुष्टि हुने गरी भने बताइएको छैन । प्रदेश सरकार गठनका लागि आवश्यक ५५ बढी सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनका तर्फबाट ५९ जना सांसदले साथ दिएपछि पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।