हेटौँडा- वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो ३: ३० मा सपथ लिएका हुन् ।
पाण्डेले आजै मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरी तीन मन्त्रीले पनि सपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिनुभएको हो । एमाले उपाध्यक्ष समेत रहनुभएकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।





प्रतिक्रिया