उदयपुर – परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसानहरू अहिले बिस्तारै व्यवसायी बन्दै गएका छन् । गाउँ-गाउँका किसान निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गर्न थालेपछि ग्रामीण भेगमा आर्थिक गतिविधि बढ्न थालेको छ । पछिल्लो समय गाउँ-गाउँकामा स्थानीय सरकार आएपछि कृषि आधुनिकिरणतर्फ उन्मुख हुँदै गएको देखिन्छ ।
यस्तै उदयपुरको दुर्गम लिम्चुङबुङ गाउँपालिकाका किसान अहिले व्यावसायी खेतीमा उन्मुख हुँदै गएको पाइन्छ । पालिकाले युवा वर्गलाई लक्षित गरी ‘अध्यक्ष कृषि परियोजना’ शुरु गरेको छ । त्यसमा पनि वैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न तालिम दिँदै आइएको छ । तालिमपछि उनीहरूलाई अध्यक्ष कृषि परियोजनाबाट अनुदानको समेत व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।
युवा लक्षित ५० प्रतिशत कृषि अनुदान पाएपछि लिम्चुङबुङ गाउँपालिकाका युवाहरू व्यावसायी कृषि प्रणालीमा होमिएका छन् । पालिकाले युवा लक्षित कार्यक्रम राखेकोमा लिम्चुङबुङ गाउँपालिका–३ बाराहा पिप्लेका केशवकुमार खत्री खुशी छन् । उहाँलाई पालिकाले कुखुरा पालन व्यवसाय गर्न ५० प्रतिशत अनुदानमा ५० हजार उपलब्ध गराएको थियो । उहाँ कुखुरा पालनमा अहिले गाउँकै व्यावसायी किसान बन्न सफल भएका छन् । गाउँमा बिक्री गरेर पनि बाहिर निकासी गर्ने तयारीमा छन् ।
‘हामीलाई विश्वास गरेर पालिकाले अनुदान उपलब्ध गरायो । हामीले पनि अनुदानको सदुपयोग गरेर काम गरेर देखायौ’, कृषक खत्रीले भन्नुभयो, ‘मेरो कुरा नै गर्ने हो भने अहिले बोइलर र लोकल कुखुरा अन्यत्र सप्लाई गर्ने स्थितिमा छु ।’ ५० हजार पालिकाको अनुदान र ५० व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले अहिले राम्रो प्रतिफल दिन शुरु गरेको किसान खत्रीको भनाइ छ ।
उहाँले अहिले लिम्चुङबुङ गाउँपालिकाको अनुदानमा खत्रीले सुपर एकीकृत कृषि तथा पशुपक्षी फर्म सुरु गरेका हुन् । उहाँले उत्पादित लोकल कुखुरा प्रति केजी ५५०, बोइलर प्रति केजी ३०० रुपैयाँमा बिक्री गर्दै आएको बताउनुभयो । खत्रीले होम डेलिभरीको व्यवस्था पनि दिँदै आएका छन् ।
लिम्चुङबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उपलब्ध गराएको ५० प्रतिशत अनुदानले खत्रीले फर्म दर्ता गरेर कुखुरा पालन व्यवसाय सञ्चालन गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
खत्रीले एक लाख लागतमा व्यवसाय शुरु गरेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । ‘लिम्चुङबुङमा अध्यक्ष कृषि परियोजना लागू गरेपछि कृषकहरूको जीवन स्तर सुधार भएको छ,’ उहाँले भन्नुभयो, ‘पालिकाका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार गत वर्षको गाउँसभाबाट लिम्चुङबुङ अध्यक्ष कृषि परियोजनाले स्वयं व्यक्तिलाई त फाइदा पुगेकै छ । समग्र पालिकाको उत्पादकत्वसमेत बढेको छ । कृषि अर्थात् तरकारी र मासु जन्य उत्पादनमा गाउँपालिका आत्मनिर्भर बनी सकेको छ ।’
गत आर्थिक वर्षमा अध्यक्ष कृषि परियोजनाअन्तर्गत स्वदेश तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई मागमा आधारित कृषि युवा लक्षित कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा ७५ बटा फर्मले कार्यक्रम सञ्चालन गरिरहेको छ । एकल, विपन्न, सीमान्तकृत वर्गहरूलाई मागमा आधारित व्यावसायिक खेती गर्नका लागि ७० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।
प्रतिक्रिया