अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक : माधव नेपाल


पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताउनुभएको छ ।

‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल । जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ,’ उहाँले भन्नुभयो, ‘एमालेमा बस्नेहरुको हरिविजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले ? केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’

नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताउनुभयो । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रसंशा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो,’ उहाँको भनाइ थियो, ‘विरोध गर्ने केपी ओली र तिनका हनुमान बाहेक अरुले गर्दैन । तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम हो । समाजका सबैको हुर्मत लिने, केपी ओलीको कामै त्यही हो ।’

पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गर्नुभएको छ । ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्न पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उहाँले भन्नुभयो, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौं, मिल्छ भने त्यहि बाटोमा किन नजाने ?’

उहाँले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो ।