अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाब मिठाई पसललाई रु.दुई लाख जरिवाना

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाब मिठाई पसललाई रु.दुई लाख जरिवाना


काठमाडौं- म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु. दुई लाख जरिवाना गराइएको छ ।

काठमाडौं महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि रु दुई लाख जरिवाना गरिएको हो ।

सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ । कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो ।

अनुगमनमा खटिनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गुलाबमा भेटिएका मिठाई खाद्य सुरक्षाका दृष्टिकोणबाट गम्भीर असर पुर्‍याउन सक्ने बताउनुभयो । ‘समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ता ठगिने क्रम रोकिँदैन,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । आउँदै गरेको तिहारलाई लक्षित गरेर कामपाले गत सोमबारदेखि बजार अनुगमन गरिरहेको छ । विगत पाँच दिनदेखि गरिएको अनुगमनका क्रममा समस्या विनाको कुनै पसल फेला नपरेको बताइएको छ ।

यसअघि पनि कामपाले चार पसललाई नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको र अखाद्य वस्तु मिसाएको भन्दै करिब रु एक लाख जरिवाना गराइसकेको छ ।