काठमाडौं – कर्तव्य ज्यानमुद्दामा ४५ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका-८ का ७३ वर्षीय गणेशबहादुर कुमाल छन् । इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले बिहीबार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार २०३३ साल वैशाख २ गते चैते दशैंको पूर्णिमा मेलामा चापाकोट नगरपालिका-८ स्थित कालीगणडकी नदी किनारमा पाल्पाका २४ वर्षीय जितबहादुर रानाको हत्या भएको थियो । उनी भारतीय सेनामा कार्यरत रहेका बेलामा बिदामा आउँदा चैते दशैंको मेला पुगेका रानालाई १२ जनाको समूहले हत्या गरेको थियो ।
हत्यापछि अन्य अभियुक्त पक्राउ परे पनि कुमाल फरार थिए । हत्यामा संलग्न रहेको आरोपमा कुमाललाई २०२६ सालमा स्याङ्जा जिल्ला अदालतले जन्मकैद फैसला गरेको थियो । तत्कालीन क्षेत्रीय अदालत पश्चिमाञ्चलले २०३९ साल र सर्वोच्च अदालतले २०४० सालमा कुमाललाई जन्मकैद सजाय नै कायम गरेको थियो ।
कुमाल स्याङ्जाबाट भागेर नवलपरासीमा लामो समयदेखि बस्दै आएका थिए । परिवारसहित नवलपरासी बसिरहेका कुमालले त्यहाँ बस्दा आफ्नो नाम पनि परिवर्तन गरेको प्रहरीले जनाएको छ । शुक्रबार कुमाललाई जिल्ला अदालत पेश गरेकोमा अदालतले कारागार पठाएको जिप्रका स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया