अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मी एमालेमा युवा नेतृत्व : ११ पालिकामा अधिवेशन सकियो

गुल्मी एमालेमा युवा नेतृत्व : ११ पालिकामा अधिवेशन सकियो


गुल्मी – अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । कांग्रेसले केही समयअघि गर्‍यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् ।

गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु गरेको छ । वडा र पालिकामा थुप्रै युवाहरूको प्रवेश देखिएको छ । उनीहरूलाई अरु पार्टीका नेता र कार्यकर्ताले समेत प्रशंसा गरेका छन् ।

नेकपा एमाले इस्मा गाउँकमिटीका अध्यक्ष राजेन्द्र विक्रम कुँवर निर्वाचित भएका छन् । उहाँले निर्वाचनबाटै प्रत्यासी बिनबहादुर गौतम र नारायण पैयानीलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्ष चयन हुनुभएको हो । कुँवर ३१ वर्षका हुनुभयो । प्रत्यासी पुराना अनुहार हुन् । कमिटीका सबैभन्दा कान्छा नविन अर्यालले नै १५५ मतमध्ये १२७ मत प्राप्त गरेर उपसचिव चएन भएका छन् । सचिवमा गनुप्रसाद अधिकारी, उपसचिव कल्पना अधिकारी चयन भएका छन् ।

त्यस्तै मालिका गाउँ कमिटीको अध्यक्षमा ओमबहादुर कार्की निर्वाचित भएका छन् । उहाँसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । कार्कीसहितका सबै ३० देखि ४० वर्ष उमेर समूहका छन् ।

मदाने गाउँ कमिटीको अध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उहाँसहितका सबै पदाधिकारीहरू युवा छन् । एमाले मदाने गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको हो । कालिगण्डकी गाउँ कमिटीको अध्यक्षमा रामजी ढकाल निर्वाचित भएका छन् । मुसिकोट र रेसुंगा नगर कमिटीले पनि युवाकै नेतृत्व पाएको छ । मुसिकोटमा प्रकाश काफ्ले र रेसुंगामा हरिप्रसाद पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमाले गुल्मीले जिल्लाका ११ स्थानीय तहका कमिटीको अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र रेसुंगा नगरकमिटी, इस्मा, मदाने, मालिका, गुल्मी दरवार, छत्रकोट, रूरू क्षेत्र, सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँ कमिटीको अधिवेशन सकिएको छ ।

धुर्कोट गाउँपालिकामा शनिबार नेतृत्व चयनको प्रयास शुरु भएको छ । ११ स्थानीय तहमध्ये इस्मा गाउँ कमिटीको लागि निर्वाचन भएको छ भने १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला सचिव सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।