अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङमा राष्ट्रिय जनगणनाका लागि २९० गणक छानिए

खोटाङमा राष्ट्रिय जनगणनाका लागि २९० गणक छानिए


खोटाङ – राष्ट्रिय जनगणनाका लागि खोटाङमा २९० गणक छानिएका छन् । आगामी २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने मुख्य जनगणनाका लागि आवश्यक गणक छानिएका हुन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा खटिने गणकको छनौटदेखि नियुक्तिको प्रक्रिया पूरा गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइरालाले बताउनुभयो ।

गणकका लागि १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ । स्थानीय जनगणनाको कार्यालय कुभिन्डे अन्तर्गत खार्पा,  स्थानीय जनगणनाको कार्यालय हलेसी अन्तर्गत दुर्छिम, स्थानीय जनगणनाको कार्यालय दिक्तेल र स्थानीय जनगणनाको कार्यालय खोटाङबजारमा गणकका लागि तालिमको आयोजना गरिएको हो ।

खोटाङमा राष्ट्रिय जनगणना अन्तर्गत करीब ४२ हजार घर तथा घरपरिवार सूचीकरण भएको छ । गत ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घरपरिवार सूचीकरण अन्तर्गत करिब ४२ हजार घर तथा घरपरिवारको सूचीकरण भएको हो । जनगणनाका क्रममा सूचीकरणमा परेका तथा सूचीकरणमा छुट भएका घर परिवारको मूख्य गणना हुने जनगणना अधिकारी कोइरालाले बताउनुभयो ।

२०६८ सालको जनगणनाअनुसार खोटाङको जनसंख्य दुई लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।