काठमाडौं- राष्ट्रिय जनगणना २०७८का खटिने ३९ हजार गणकहरुको तालिम आजबाट देशव्यापी रुपमा सुरु भएको छ ।
केन्द्रीय तथ्यांक विभागले विज्ञप्ती जारी गरेर जनाए अनुसार ७७ जिल्लामा खोलिएका स्थानीय जनगणना कार्यलयहरु मार्फत १५ सय प्रशिक्षकहरुले गणकलाई तासलिम दिन सुरु गरेका छन् । तालिम आजबाट १६ गतेसम्म सञ्चालन हुने विज्ञप्तीमा जनाइएको छ ।
गणक तालिममा जनगणना क्षेत्र कसरी पहिचान गर्ने,सही तथ्यांक ल्याउनका लागि गणकले अपनाउनु पर्ने सावधानी,उत्तरदातासँग गर्नुपर्ने व्यवहार,तथ्यांकको गोपनीयता आदि जस्ता बिषयमा गणकलाई जानकारी गराइने केन्द्रीय तथ्यांक विभागका जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
‘गणकको साना गल्तीले सारा तथ्यांकको विश्वसनीयतामा प्रश्न आउने भएकोले गणकहरुले आफ्नो जिम्मेवारी पुरा गर्न धेरै गम्भिर हुनु पर्दछ । गणकहरुले के कस्ता कुराहरुमा विशेष ध्यान दिनुपर्दछ भनेर पनि गणक तालिममा सिकाइनेछ ’ लामिछानेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
गणकले एउटा घरमा ८० वटा प्रश्नावली भर्नुपर्दछ । गणकलाई एउटा घरमा प्रश्नावली भर्न कम्तीमा ३० मिनेटको समय लाग्ने विभागले जनाएको छ । २०७८ कातिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना कार्य हुदैछ ।
प्रतिक्रिया