अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले गति लिन सकेन : जबरा

गठबन्धन सरकारले गति लिन सकेन : जबरा


काभ्रेपलाञ्चोक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताउनुभएको छ । उहाँले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।

‘जनतासँग यो सरकारप्रतिको आशा निकै जागेको देखिन्थ्यो, तर सरकार आफैँले गति लिन सकिरहेको छैन’, उहाँले भन्नुभयो । सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको भन्दै उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा विभिन्न समस्या सिर्जित छन्, तिनीहरुलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुपर्‍यो ।’

अध्यक्ष जबराले फरक प्रसङ्गमा चार बर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । ‘त्यतिबेला नेकपाले पनि जनताको हितमा काम गर्न सकेन, आफैँमा झगडा गरेरै बसे, जनताको अपेक्षा विकास हुन्छ भन्ने थियो, विकासमा ध्यान दिनु आजको आवश्यकता हो’, उहाँले भन्नुभयो । वर्तमान सरकार नेपाल र नेपालीको मुहार फेर्न सक्ने आधार तयार गरेर देखाउनुपर्ने उहाँको धारणा थियो ।

अध्यक्ष जबराले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म हुने जनाउँदै ८१ प्रतिशत धर्मालम्बी भएको नेपाल हिन्दू राष्ट्रको नामले परिचित हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य उदय मुस्याजू, जिल्लाध्यक्ष टुल्कु लामालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।