अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्दो हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विज्ञका चार उपाय

बढ्दो हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विज्ञका चार उपाय


लन्डन – जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि शुरु हुँदैछ । सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका असर न्यून गर्ने उपाय र हरितगृह ग्यास उत्सर्जनमा कटौतीबारे विभिन्न देशको प्रतिबद्धता र रणनीति सार्वजनिक हुनेछ । प्रस्तुत छ जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विज्ञका चार उपायः

१ खानेकुरा खेरा नफाल्ने र रातो मासु नखाने

विश्वभर भइरहेको कुल हरितगृह ग्यास उत्सर्जनमध्ये १४ प्रतिशत उत्सर्जनमा पशु तथा चौपाया जिम्मेवार छन् । तसर्थ, जलवायु परिवर्तनको असर घटाउन रातो मासु र दुग्धजन्य सामाग्रीको उपभोग पनि घटाउनु पर्ने विज्ञहरु बताउँछन् ।

जलवायु परिवर्तनबारे अनुसन्धान गर्दै आएका प्राध्यापक म्यागरेट गिलका अनुसार खेर गइरहेको खानेकुराबाट पनि ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको छ । एबरडिन विश्वविद्यालयकी प्राध्यापकसमेत रहेकी उनले जलवायु परिवर्तनको बढ्दो असर घटाउन थोरै खानु पर्ने र खानेकुरा खेरा नफाल्न सुझाव दिन्छिन् । बेलायतको वेस्ट एन्ड रिसोर्स एक्स प्रोग्रामअनुसार विश्वमा २५ देखि ३० प्रतिशत खानेकुरा खेरा जाने गर्छ ।

२ सवारी साधन कम प्रयोग गर्ने 

विश्वव्यापी हुने कूल कार्बन उत्सर्जनमा यातायातका साधनबाट निस्कने धुँवा र धुलो  पनि उत्तिकै जिम्मेवार हुन्छ । तर, प्रदुषण बढ्यो भन्दैमा यातायातका साधन नै नचलाउने भन्ने हुँदैन् । राती काम गर्ने वा टाढाबाट कार्यलय जाने व्यक्तिका लागि सवारी साधन अपरिहार्य मानिन्छ । तर, सानो कदमले पनि प्रदुषण नियन्त्रणमा सहयोग पुग्छ । विज्ञहरुका अनुसार डिजेल र पेट्रोलको विकल्पमा विजुलीबाट चल्ने सवारी साधनको प्रयोग प्रदुषण नियन्त्रणमा धेरै हदसम्म प्रभावकारी हुन सक्छ ।

त्यस्तै, छोटो दूरीमा पैदल हिड्ने र साइकलको यात्राले पनि बढ्दो प्रदुषण नियन्त्रण गर्न सघाउ पुग्न सक्छ । अहिले विद्युतीय कारको प्रयोग बढ्न थालेको छ । तर, विकासन्मुख देशमा ती महंगा साबित  भएका छन् ।

३ सामान किन्नुअगाडि एक पटक सोच्नुहोस

राष्ट्रसंघको वातावरण कार्यक्रमअनुसार एक जोडी जिन्स कपडा बनाउन तीन हजार ७८१ लिटर पानी आवश्यक पर्छ । यस हिसाबले विश्वभर भइरहेका उत्पादन, निर्माण, निर्यात र सरसफाईमा लाग्ने  पानी र सामान उत्पादन गर्दा त्यसबाट उत्पन्न हुने प्रदुषण सहजै अनुमान गर्न सकिन्छ ।

सामान्य ढंगले च्यातिएपछि लुगा फाल्नु वा अर्को महंगो किन्नुभन्दा त्यसलाई मर्मत गरेर लगाउँदा जलवायु परिवर्तनको प्रभाव न्यून गर्न सकिन्छ । धेरै कम्पनीहरुले लुगा भाडा दिएका छन्, जसका कारण फेसन उद्योगको भइरहेको फजुल खर्च कटौती हुनुको साथै त्यसबाट उत्पन्न हुने प्रदुषण घटाउन मद्दत गरेको छ । त्यस्तै, विज्ञहरुले एक पटक प्रयोग भइसकेको सामाग्री किन्न पनि जोड दिएका छन् ।

४ प्रयोग नभएको समयमा ताप प्रणाली बन्द गर्ने

कोठा तताउन वा चिसाउन प्रयोग हुने ग्यास, हिटरलगायतका सामाग्री हटाउँदा पनि कार्बन उत्सर्जन कटौतीमा ठूलो सहयोग मिल्ने विज्ञहरु बताउँछन् । ‘आवश्यक नपरेको समयमा बत्ती, ग्यास वा तेलबाट चल्ने ताप प्रणालीले महत्वपूर्ण अर्थ राख्छ । यसलाई नियन्त्रण गर्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असर घटाउन सहयोग गर्छ,’ लन्डनस्थित इम्पेरियल कलेजका डा। निल जेनिङ्स भन्छन् । बेलायतको इनर्जी सेभिङ ट्रस्ट (इएसटी) अनुसार उर्जा बचतका लागि ‘ड्रट प्रुफिङ’ सबैभन्दा सस्तो र प्रभावकारी तरिका हो ।