अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ वर्षीय युवा एमालेको पालिका अध्यक्षमा चयन

२४ वर्षीय युवा एमालेको पालिका अध्यक्षमा चयन


गोरखा – गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्षमा सुजन सिंखडा चयन भएका छन् । सिंखडा भर्खरै २४ वर्ष पुग्नुभएको छ । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट सिंखडा सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भएका हुन् । भीमसेनथापा गाउँपालिका–४ धावाका सिंखडाले २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गर्नुभएको थियो ।

सुजन सिंखडा भन्नुहुन्छ, ‘स्कूले जीवनमा राजनीततिर खासै चासो र रुचि भएन । ‘एसएलसी सकेर चितवन पढ्न गएपछि विद्यार्थी राजनीति थालेको हुँ ।’

चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपीआई) मा अध्ययन गर्दा २०७० सालमा पहिलो पटक एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको साधारण सदस्य लिएको उहाँले बताउनुभयो । २०७१ सालमा उहाँ अनेरास्ववियू एनपीआई (सीटीईभीटी)को इकाइ कमिटी सदस्य बन्नुभयो । २०७३ साल साउन महिनामा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उहाँ त्यसै वर्ष भदौमा भएको इकाइ सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको थियो ।

२०७४ सालमा अनेरास्ववियुको सीटीईभीटी राष्ट्रिय कमिटी सदस्य बन्नुभएका उहाँ एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७६ सालमा अनेरास्ववियु गोरखाको सहसंयोजक हुनुभयो । उहाँ २०७७ साल पुस २५ गते अनेरास्ववियुको जिल्ला अध्यक्षमा सर्वसम्मत चयन हुनुभयो । २०७७ सालदेखि नै उहाँले एमालेको भीमसेन थापा गाउँपालिकाको पार्टी सचिवको जिम्मेवारी पनि पाउनुभयो ।

युवा उमेरमै पार्टीको गाउँपालिका अध्यक्ष बन्नुभएका सिम्खडा संगठन विस्तारमा दिनरात खट्ने बताउनुभयो । ‘गत स्थानीय निर्वाचनमा भीमसेन थापा गाउँपालिकामा एमालेबाट कोही पनि जनप्रतिनिधि निर्वाचित भएनन्, अब पार्टीको संगठनलाई सुदृढ गर्दै आगामी निर्वाचनमा एमालेको प्रतिनिधि स्थापित गराउने लक्ष्य छ,’ उहाँले भन्नुभयो ।