अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन तयारी

स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली चितवन जाँदै, महाधिवेशनस्थलदेखि अयोध्यापुरीसम्म जाने

स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली चितवन जाँदै, महाधिवेशनस्थलदेखि अयोध्यापुरीसम्म जाने


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार चितवन जाँदै हुनुहुन्छ । अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

स्थलमार्गबाट अध्यक्ष ओली चितवन जाने उहाँको निजी सचिवालयले जनाएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम समेत रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ ।

सोमबार दिउँसो साढे तीन बजे भरतपुर- १० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १० औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ । उहाँले महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहामा सोमबार साँझ अवलोकन गर्ने कार्यक्रम छ ।

मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप (मिनी पानिजहाज)को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको रावलले जानकारी दिनुभयो ।

ठाउँ ठाउँमा स्वागत

अध्यक्ष ओलीलाई धादिङदेखि नै कार्यकर्ताहरुले चोकचोकमा स्वागत गर्ने तयारी गरेका छन् । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार इच्च्छामनकामना गाँउपालकिा प्रवेशस्थलमा ओलीको भव्य स्वागत गर्ने कार्यक्रम छ । त्यहाँ चितवन जिल्लाका नेता कार्यकर्ता स्वागतका लागि सयौं मोटरसाइकल लिएर आउनेछन् ।

कुरिनटारमा अध्यक्ष ओलीलाई स्थानयीबासिन्दाले स्वागत गर्ने कार्यक्रम छ । मुग्लिनमा पनि पार्टी कार्यकर्ता र स्थानीयबासीले अध्यक्ष ओलीलाई स्वागतको तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएका बेला विस्तार गरिएको मुग्लिनबाट नारायणगढ सडक खण्डको अध्यक्ष ओलीले निरीक्षण गर्नुहुनेछ । यो सडकलाई दुई लेनबाट चार लेनमा बिस्तार गरिएको छ ।

ओलीले दासढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्नुहुनेछ । त्यसपछि रामनगरमा कार्यकर्ता र स्थानीयबासिन्दाले ओलीको स्वागत गर्ने कार्यक्रम छ । रावलका अनुसार चितवन पुगेर एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको अध्यक्ष ओलीले उदघाटन गर्नुहुनेछ । त्यसपछि एमालेको १० औं महाधिवेशन स्थल नारायणी किनार अवलोकन गर्न जानुहुनेछ । त्यसलगत्तै भरतपुर १० को चितवन जिल्ला पार्टी कार्यलयमा रहेको १० औं महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओली आज कसरामा बस्ने कार्यक्रम छ ।