अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस जस्तै देश पनि अस्तव्यस्त छ : रामचन्द्र पौडेल

कांग्रेस जस्तै देश पनि अस्तव्यस्त छ : रामचन्द्र पौडेल


जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्थव्यस्त भएको बताउनुभएको छ ।

प्रेस युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात नेतृत्वहरू कुशल नपाएर देश नै अधोगतितर्फ गएको टिप्पणी गर्नुभयो ।

‘७० वर्षसम्मको आन्दोलन र त्यागले हामी आफ्नो देशमा लोकतन्त्र ल्याएउन सफल भयौं’, नेता पौडेलले भन्नुभयो, ‘तर यत्रो त्याग र बलिदानीले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने भेलामा न्यायदेखि हरेक संविधान निकायहरूमा भाँडभैलो छ । सदन पटक–पटक अवरुद्ध गरिन्छ । देशलाई अस्तव्यस्त पारिएको छ । यस्तो अवस्थामा लाग्छ एकपटक फेरि लोकतन्त्रको रक्षाका लागि आमजनताले आगाडि आउनुपर्छ ।’

संविधानमा रहेका कमीकजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जस्तो संविधान संशोधनको आवश्यकता नरहेको नेता पौडेलको भनाइ थियो । संविधान संशोधनको मुद्दालाई अहिले उचालेको खण्डमा मुलुक अस्चव्यस्तमा र द्वन्द्वमा फस्न सक्ने नेता पौडेलले दाबी गर्नुभयो ।

न्यायपालिकामा देखिएको समस्याबारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र छलफल राख्न आग्रह गरेको बताउँदै पौडेलले भन्नुभयो, ‘विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्दा भागबन्डा कुरा त्यसैले हामी यस विषयमा पार्टीभित्र छलफल गर्न साझा धारणा बनाउन सभापतिज्यूलाई भनेको छु ।’

पार्टीको महाधिवेशनमा सभापति उम्मेदवारको आकांक्षीसमेत रहेका वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘समावेशी र समानुपातिमा कांग्रेस अन्य पार्टीभन्दा अब्बल छ। त्यसकारण सहमतिको अधारमा सभापति चयन हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

उहाँले मधेस कांग्रेसको जनआधार भएको तर्क गर्नुभयो । ‘मधेसलाई पनि नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो । तर यो निर्णय कांग्रेसका नौ लाख कार्यकर्ताको हातमा छ,’ पौडेलले भन्नुभयो ।