अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनबीच नै एकअर्कालाई विश्वासघात गरिरहेको छ : महेश बस्नेत

सत्ता गठबन्धनबीच नै एकअर्कालाई विश्वासघात गरिरहेको छ : महेश बस्नेत


सुर्खेत – नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सत्ता गठबन्धनमा विश्वासघात गरिरहेको टिप्पणी गर्नुभयो ।

प्रेस चौतारी नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनबीच नै एकअर्कालाई घात गरिरहेका छन् । जीवन शाहीका पछिल्ला अभिव्यक्तिले पनि पुष्टि गर्छ, गठबन्धनमा विश्वासघात भइरहेका छन् ।’

नेता बस्नेतले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलले सत्तामा आफू मात्र टिकिराख्न एकअर्कालाई विश्वासघात गर्दै आएको आरोप लगाउनुभयो । पूर्वमन्त्री समेत रहेका उहाँले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस र माओवादीको सहमति कता हरायो भन्दै यो सत्ताका लागि गरिएको छल र स्वार्थ मात्र भएको दाबी गर्नुभयो ।

‘उहाँहरूको नियत छताछुल्ल हुँदैछ, देख्नुभयो नि गठबन्धन केका लागि बनेको रहेछ ?’ उहाँले भन्नुभयो, ‘गठबन्धन जति लम्बियो एमालेलाई उत्ति नै फाइदा छ, सत्ता साझेदारका जालझेल र स्वार्थ धमाधम सार्वजनिक हुँदैछन् ।’

नेता बस्नेतले हिजोआज न्यायालयमा देखिएको समग्र विकृति र बेथितिको समाधान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा समेत राख्नुभयो । उहाँले एमाले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव लैजाने पक्षमा भने नरहेको प्रष्ट पार्नुभयो ।

बस्नेत दैलेखको गुराँस गाउँपालिकामा एमालेको गाउँ कमिटी अधिवेशनलाई सम्बोधन गर्न जाने क्रममा वीरेन्द्रनगर आएका हुन् ।