अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो : हरिहर दाहाल

बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो : हरिहर दाहाल


काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन पनि आन्दोलनमै छ । कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराइएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।

तेस्रो दिनको आन्दोलनका क्रममा मंगलबार बार कार्यालय परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दाहालले भन्नुभयो, ‘प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन सकेको छैन । हामीभन्दा बढी न्यायाधीशहरू सकसमा छन् । न्यायमा निष्पक्षता भएन । बेन्च सेटिङ भयो । संवैधानिक इजलासलाई बन्दी बनाइयो ।’

न्यायाधीशको नियुक्तिबाटै प्रश्न उब्जिएको बताएका उहाँले जबराको पालामा भने धेरै प्रश्न उठेको बताउनुभयो । न्यायपालिका सुद्धीकरण अभियान थालेको बताएका उहाँले बार एसोसिएसनले बार बेन्च समन्वय समितिको छलफलमा प्रधानन्यायाधीश जबराले विकृति विसंगति अध्ययन गर्न हरिकृष्ण कार्की नेतृत्वमा कमिटी बनाए पनि त्यसले बुझाएको प्रतिवेदन कार्यान्वयनमा संवेदनशीलता नदेखाएको बताउनुभयो ।

प्रधानन्यायाधीश जबराले उक्त प्रतिवेदन कार्यान्वयन नगर्दा विश्वासको संकट गहिरिएको दाहालको भनाइ छ । अटोमेसनमा जानुअघि गोलाप्रथामा कसरी जाने भनेर मिरा खड्का नेतृत्वमा समिति बनेको र उसले बुझाएको प्रतिवेदन पनि कार्यान्वयन नगरेर न्यायालयको सुद्धीकरणमा जबरा उदासिन बनेको वरिष्ठ अधिवक्ता दाहालको आरोप छ ।

हरिकृष्ण कार्कीको प्रतिवेदन, बार/बेन्चमा भएका सहमति कार्यान्वयन नहुँदा अहिलेको समस्या देखा परेको बताएका उनले अब प्रधानन्यायाधीश जबराले राजीनामा दिएर बाहिरिँदा न्यायालयको मर्यादा रहने बताउनुभयो ।

सेतो पट्टी लगाएर जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न उहाँले आग्रह गर्नुभयो ।