चितवन – नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राम-सीताको मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । ओलीले मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा समेत गर्नुभयो ।
माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि ओलीले स्थलगत अवलोकन गर्नुभएको हो । अयोध्याधाममा ओलीलाई स्थानीयहरूले पुष्पगुच्छा र मालाले स्वागत गरेका छन् ।
१०औं महाधिवेशनस्थलको निरीक्षण गर्न ओली सोमबार चितवन आउनुभएका हुन् । प्रधानमन्त्री भएका बेला ओलीले यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिनुभएको थियो । गत ८ वैशाखमा राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।
माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्डले भने ओलीले आफूलाई प्रहार गर्नकै लागि माडीमा राम मन्दिर बनाएर मूर्ति स्थापना गर्न लगाएको आरोप लगाउदै आउनुभएको छ ।
अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उहाँ चितवन आउनुभएको हो ।
महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।





प्रतिक्रिया