काठमाडौं – एमाले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।
पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवनको भरतपुरमा १०औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)लाई नबोलाउने जानकारी दिनुभयो ।
‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भन्नुभयो ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ । पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’
एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयोजना हुँदैछ ।





प्रतिक्रिया