जनकपुरधाम – जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दिपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ ।
दिपावलीमा धनकी देवी लक्ष्मीको पूजापाठ हुने गरेको र पूजापाठमा फूल अनिर्वाय रहेकाले फूलको व्यापारमा वृद्धि भएको हो ।
तिहारको तेस्रो दिन बिहीबार बिहानैदेखि जनकपुरसहित प्रदेश २ का विभिन्न सहर वीरगन्ज, कलैया, मलंगवा, राजविराज, लहानलगायतका सहर बजारहरुमा फूल तथा केराको थाम किन्नेहरू घुइँचो लागेको छ । केरा थाम बेच्न बिहानैदेखि किसानहरू ट्याक्टर तथा बयलगाडामा लोड गरेर जनकपुरधाम बजारमा घुमिरहेको देखिन्छ भने फूलमाला बेच्न मालीहरू भने रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन् ।
व्यापारीहरूले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने गरेका छन् । केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार बिक्रीका लागि ल्याएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ बस्ने कासिम अन्सारीले प्रति थाम २५० रुपैयाँ बिक्री गरेको बताउनुभयो । केराको घौरभन्दा थाममा बढी आम्दनी हुने गरेको उहाँले बताउनुभयो ।
बिहीबार मात्रै जनकपुर बजारमा करिब चार-पाँच हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो । लक्ष्मीपूजाका दिन फूल र केराको थामको करीब ५० लाखभन्दा बढी कारोबार हुने अनुमान आफूहरूको रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया