काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गर्नुभएको छ । राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भनेर चिठ्ठी पठाएको उहाँले दाबी गर्नुभएको छ ।
बिहीबार बेलायत भ्रमणबाट फर्किनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा ठूलै तरंग आएको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको दाबीभन्दा केही फरक मत राख्नुभएको छ । उहाँले भन्नुभयो, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि यो विषयमा तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको छैनौं ।’
अध्यक्ष प्रचण्ड भन्नुहुन्छ, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’
एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको उहाँले बताउनुभयो । ‘सुरुमा सहमति हुँदा एमसीसी सम्झौता संसदमा लैजानुपर्ने, अनुमोदन गर्नुपर्ने केही थिएन । अमेरिकाले पैसा दिने, नेपालले विकास गर्ने भन्ने मात्र थियो । त्यतिबेला शेरबहादुर देउवाकै नेतृत्व सरकारमा हामी पनि थियौं । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा संसदमा लगेर ऐन सरह हुनेगरी अनुमोदन गर्ने कुरा भएको थिएन,’ उहाँले भन्नुभयो, ‘पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसको पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो र विवाद बन्न आयो ।’
अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वाभाविक भएको भन्दै प्रचण्डले सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको बताउनुभयो । तर संसदबाट पास गर्नुपर्ने व्यवस्था थप हुँदा विवाद भएको भन्दै उहाँले भन्नुभयो, ‘बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरिकन यसलाई पास गर्न सकिँदैन ।’





प्रतिक्रिया