काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा अमेरिकी अनुदान सम्झौता (एमसीसी) लाई रोक्नुपर्ने बताउनुभयो ।
२०७८ सालको शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार फतुवा विजयपुर नगरपालिका-३, टेंग्राहामा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागू गरे देशमा द्वन्द्व हुन सक्ने भन्दै सचेत गराउनुभयो ।
कम्युनिष्टको खोल ओढेका माधव र प्रचण्डहरुले जनतासँग गद्दारी गर्दा प्रतिकृयावादी कांग्रेसको पुच्छर बनेर एमसीसी पास गर्ने गरेको षडयन्त्र जनताले रोक्नुपर्ने नेता साहले आह्वान समेत गर्नुभएको छ ।
‘अमेरिकी अनुदान केही अर्ब रूपैया अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु सामु नत्मस्तक छ । कांग्रेस मात्र होइन, माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादव समेत एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्’ नेता साहले भन्नुभयो, ‘देशलाई द्वन्द्वमा फसाउने यो राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा रोक्नुपर्छ । यसका लागि देशका सबै जनता एकताबद्ध हुनुपर्छ ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वहा, नेता त्रिभुवन साह, एमाले जिल्ला सचिव मनोज यादव, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख एवं कान्ति देवी महतो, सो वडाका वडाध्यक्ष ब्रह्मा नारायण यादवलगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया