अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको तिहार शुभकामनाः आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतामा जोड

अध्यक्ष ओलीको तिहार शुभकामनाः आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतामा जोड


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिहार पर्व, २०७८ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ‘यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी/भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सदभाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ,’ सन्देशमा भनिएको छ ।

अध्यक्ष ओलीले सरकारको नेतृत्वमा रहँदा नेकपा (एमाले)ले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्नुभएको छ । ‘हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्र्न नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु,’ उहाँले भन्नुभएको छ ।