अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्याधीश जबराविरुद्ध रणनीति बनाउन नेपाल बारको ‘जुम मिटिङ’

प्रधानन्याधीश जबराविरुद्ध रणनीति बनाउन नेपाल बारको ‘जुम मिटिङ’


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तय गर्न देशभरका बार इकाइसँग छलफल थालेको छ ।

तिहारलगत्तै जबराविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको नेपाल बारले देशभरका ८३ वटै नेपाल बारका एकाइसँग भावी आन्दोलनको स्वरुप तय गर्न जुम बैठक गरिरहेको छ ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आइतबार बार इकाइसँगको छलफलपछि नेपाल बारको बैठकले सोमबारबाट गर्ने आन्दोलनको स्वरुप तयार पार्नेछ ।

तिहारअघि जबराको राजीनमा माग्दै सर्वोच्च अदालतअघि धर्ना र कोणसभा गरेको बारले भोलि सोमबार अदालत खुलेलगत्तैबाट जबराको राजीनामा नआएसम्मका लागि दबाबमूलक कार्यक्रम गर्दै छ ।

‘प्रधानन्यायाधीशको राजीनामा नआएसम्म कस्ता आन्दोलन गर्ने भनेर हामी यतिबेला जुम बैठक बसिरहेका छौँ,’ महासचिव पौडेलले भन्नुभयो, ‘सबैको सुझावपछि बेलुका या भोलि बिहानसम्ममा हाम्रो आन्दोलनको स्वरुप तयार हुन्छ ।’

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् । एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् ।