काठमाडौं- जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् । बिहीबार मध्यराति पक्राउ परेका उहाँलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उहाँलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । स्रोतका अनुसार कांग्रेस नेताहरुको दबाब दिएपछि प्रहरीले उहाँलाई अस्पताल लैजाने व्यवस्था मिलाएको थियो । अस्पतालले उहाँलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।
बर्मा लामासहित १८ जनाविरुद्धको जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । लामा दशैंअघि भएको जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उहाँ पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो । जुवा खेलाउने सागर लामा अझै फरार सूचीमा छन् ।
विभिन्न मुद्दामा पक्राउ पर्ने पहुँचवालाहरुले हिरासतमा बस्नुभन्दा बिरामी भएको भनी अस्पताल बस्ने गरेका छन् ।
प्रतिक्रिया