काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाउनुभएको हो ।
‘हामीले बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी पाउँथे होला ? भिसा पाउने जादु के होला ?’ उहाँले भन्नुभयो, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ र नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’
अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ दुई देखि पाँच लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’
पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाउनुभयो । तर प्रचण्ड-बाबुराम युरोप घुमेको भन्दै उहाँले भन्नुभयो, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर २०४८ मा सांसद भएपछि मात्रै । के प्रचण्ड-बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’





प्रतिक्रिया