सिन्धुली – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा अरु कुनै दलसँग तालमेल या गठबन्धन नहुने बताउनुभएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले बताउनुभएको हो ।
‘कांग्रेसका कार्यकर्ताले रुखबाहेक अन्त मतदान गर्न सक्दैन ।’ थापाले भन्नुभयो, ‘विगतका निर्वाचनमा पनि हामीले चितवनसहितका अन्य ठाउँमा तालमेल गरेर गल्ती गर्यौं । पटक-पटक गल्ती गर्नु हाम्रो मूर्खता हुन्छ । त्यसैले यो पटक कांग्रेस एक्लै लडेर बहुमत ल्याउँछ । कसैसँग तालमेल हुँदैन।’
थापाले आगामी वैशाखमा स्थानीय चुनाव र मंसिरमा आमचुनाव हुने बताउनुभयो । ‘अब वैशाखमा स्थानीय तहको चुनाव हुन्छ । मंसिरमा आम चुनाव हुन्छ । अदालतले नै अर्ली इलेक्सन रोकिसकेको छ’, उहाँले भन्नुभयो, ‘कांग्रेसका कोही नेताले अन्य दलसँग मिलेर चुनाव लड्छु भन्छ भने त्यो नेता डरछेरुवा हो ।’
२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताउनुभयो ।
चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह)मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो, उहाँले भन्नुभयो, ‘चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए । हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन । अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउँछ।’





प्रतिक्रिया