विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताउनुभएको छ ।
एमाले मोरङले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सबोधन गर्दै उहाँले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफूसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको उहाँले बताउनुभयो ।
‘अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन्, कसले बोलेको विश्वास गर्नु,’ ओलीले भन्नुभयो, ‘देउवा एउटा कुरा गर्नुहुन्छ, प्रचण्ड अर्का कुरा गर्नुहुन्छ । अरूका त कुरा सुन्ने फुर्सद पनि छैन् । एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको फरक-फरक धारणा आएपछि ओलीले यस्तो भन्नुभएको हो ।
ओलीले तीन महिनासम्म मन्त्रीपरिषद् विस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको पनि बताउनुभयो । अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने ओलीले भन्नुभयो । अरू दल कांग्रेसको पुच्छर भएर हिडेको उहाँको आरोप छ । ‘चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेका छन् । कांग्रेस बोल्दैन । तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन्’, उहाँले भन्नुभयो चुनावमा जाँदा हालत के हुन्छ हामी पनि हेरेर बस्छौँ।’
अदालतमा किनबेचका भरमा चलेको आरोप समेत ओलीले लगाउनुभयो । ‘ओलीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने श्रीमानहरू खोई कसकसलाई मन्त्री बनाउँदै हिड्नु हुँदोरहे छ’, ओलीले भन्नुभयो, ‘अहिले न्यायलय भनेर चुप बस्ने दिन गएका छन् ।’ उहाँले न्यायलयको काम संविधानको व्याख्या गर्ने भए पनि संविधाननै बनाएको आरोप समेत लगाउनुभयो । उहाँले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र रार्इलाई आउँदो चुनावमा जनमत जोगाउन समेत चुनौती दिनुभएको छ ।





प्रतिक्रिया