अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको सोमवार बसेको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिनुभएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बन्नुभएको हो ।

एक महीनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले सोमवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावको पक्षमा बहुमत मत परेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । सभामुख श्रेष्ठकाअनुसार बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख श्रेष्ठले घोषणा गर्नुभएको हो ।

प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई-दुई, जनता समाजवादी पार्टी नेपालका एक जना सांसद छन् ।

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका नेता हुन् ।