ताप्लेजुङ -नेकपा एमाले ताप्लेजुङमा रहेका दुईवटा कमिटीहरु एक अर्कामा समाहित भएसँगै पार्टीभित्रको विवाद सुल्झिएको छ । पार्टीको केन्द्रीय सचिव योगेश भट्टराईको उपस्थितीमा आज दुवै कमिटी समायोजन गरिएको हो ।
बलबहादुर साम्सोहाङलाई संयोजक र भूपेन्द्र थेबेलाई सहसंयोजक तोकिएको छ । पुष ५ गते पछि जिल्ला नेताहरु विभिन्न कित्तामा उभिएका बेला संस्थापन पक्षले थेबेको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गठन गरेको थियो ।
झण्डै दुई महिनाको निरन्तरको प्रयास पछि आज दुवै कमिटीलाई मर्ज गर्न सफल भएको जिल्लाका एक नेताले बताउनुभयो । दुवै कमिटीको संयुक्त बैठकलाई सम्बोधन गर्दै सचिव भट्टराईले ताप्लेजुङको एमाले एक्तावद्ध भएको बताउनुभयो । ‘आजैबाट ताप्लेजुङ एमालेले आउदो स्थानीय,प्रदेश र संघीय निर्वाचनमा विजयी हुनुपर्नेछ’ भट्टराईले भन्नुभयो ‘हाम्रो मिसन पुरा गर्न एमाले अब एक ढिक्का भएर अगाडी बढ्दछ । ’
दुवै कमिटी मर्ज गर्दा जिल्ला कमिटी ४ सय जनाको भएको नेता तिलकुमार मेन्याङबोले जानकारी दिनुभयो । आजको बैठकले आगामी पुष २४ र २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।





प्रतिक्रिया